कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपमा क्रोएसिया तेस्रो भएको छ । गएराति खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा अफ्रिकन टोली मोरक्कोलाई २–१ गोल अन्तरले हराउँदै क्रोएसिया तेस्रो भएको हो ।
क्रोएसियाको जितमा जोस्को ग्भार्डिओल र मिस्ला ओरसिकले एक/एक गोल गरे । मोरक्कोका लागि अर्चरफ डारीले एक गोल फर्काए ।
खेलमा सातौं मिनेटमा क्रोएसियाले अग्रता लिएको थियो । उसका लागि जोस्को ग्भार्डिओलले गोल गरे । दुई मिनेटपछि नै मोरक्कोले बराबरी गोल फर्कायो । अर्चरफ डारीले क्रोएसियाका लागि नवौं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
४२ मिनेटमा क्रोएसियाले खेलमा दोस्रो पटक अग्रता लियो । मिस्ला ओरसिकले डिबक्स बाहिरबाट हानेको प्रहारलाई मोरक्कोका गोलकिपरले रोक्न सकेनन् ।
तेस्रो स्थानको उपाधिसहित क्रोएसियाले २७ मिलियन डलर अर्थात् करिब ३ अर्ब ४९ करोड ८६ लाख ६० हजार रुपैयाँ प्राप्त गरेको छ । यस्तै, चौथो भएको मोरक्कोले २५ मिलियन डलर अर्थात् करिब ३ अर्ब २३ करोड ९५ लाख रुपैयाँ पाएको छ ।
क्रोएसिया गत संस्करणको उपविजेता टोली हो । मोरक्कोले भने यसपालि पहिलोपटक सेमिफाइनलको यात्रा तय गरेको थियो ।
गत संस्करण फ्रान्ससँग पराजित हुँदै विश्वकपको उपाधि नजिक पुगेर पनि टाढिएको क्रोएसिया यो पटक सेमिफाइनलबाट अघि बढ्न सकेन। सेमिफाइनल खेलमा क्रोएशिया अर्जेन्टिनासँग ३–० ले पराजित भएको थियो।
उता क्वार्टरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराउँदै पहिलो पटक अन्तिम ४ मा स्थान बनाएको थियो। तर सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले पराजित हुँदै मोरक्कोले तेस्रो स्थानका लागि क्रोएसियासँग खेलेको थियो।