अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले सन्यास लिने कुनै योजना नरहेको बताएका छन्। आइतबार अर्जेन्टिनालाई विश्वच्याम्पियन बनाएपछि पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले तत्काल सन्यासको योजना नरहेको जवाफ दिए।
सन्यास बारे सोधेको प्रश्नमा मेस्सीले भने, ‘होइन, म राष्ट्रिय टोलिबाट सन्यास लिने छैन। अर्जेन्टिनाको जर्सीमा विश्वच्याम्पियनको रुपमा खेलिरहन चाहन्छु।’
यसअघि यो विश्वकप आफ्नो अन्तिम हुने बताएका मेस्सीले विश्वकपसँगै सन्यास लिन सक्ने अनुमान गरिएको थियो। ती अनुमानविपरीत मेस्सीले अझै खेल्ने बताएका हुन्। तर उनले आगामी विश्वकप भने नखेल्ने बताएका छन्।
३५ वर्षीय मेस्सी सर्वाधिक विश्वकप खेल्ने खेलाडी बनेका छन्। विश्वकपमै दुई पटक गोल्डेन बल जित्ने उनी पहिलो खेलाडी हुन्। यसअघि २०१४ मा अर्जेन्टिना उपविजेता बन्दा पनि मेस्सीले गोल्डेन बल जितेका थिए।
तर उनको इच्छा अर्जेन्टिनालाई आफ्नो कप्तानीमा विश्व च्याम्पियन बनाउनु थियो। जुन अब पूरा भएको छ।
उता, एसियाली मुलुक कतारमा आयोजित २२ औं संस्करणको फिफा विश्वकपमा व्यक्तिगत विधामा अर्जेन्टिनी खेलाडीको वर्चश्व रहेको छ।
दोहास्थित लुसेल रंगशालामा आइतबार राति भएको खेलमा अर्जेन्टिनालाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका कप्तान लिओनेल मेसीले गोल्डेन बल जिते। उनले प्रतियोगितामा सात खेलबाट समान सात गोल गरे। यस्तै उनले तीन वटा गोलका लागि सहयोग गरेका थिए।
यसअघि सन् २०१४ को विश्वकपमा पनि गोल्डेन बल जितेका मेसी यो अवार्ड २ पटक पाउने पहिलो खेलाडी बने। सन् १९८२ को स्पेन विश्वकपबाट यो अवार्ड दिन थाले यता दुई पटक यो पुरस्कार जित्ने मेसी पहिलो खेलाडी हुन्।
यता प्रतियोगिताको सर्वाधिक गोलकर्ता फ्रान्सका केलियन एम्बाप्पेले गोल्डेन बुट जिते। उनले सात खेलमा ८ गोल र दुई असिस्ट गरेका थिए।
२३ वर्षीय एम्बाप्पेले फाइनलमा ह्याट्रिक गर्दै खेललाई बराबरीमा ल्याए पनि उनको टिम पेनाल्टी सुटआउटमा स्तब्ध भएको थियो। सन् २०१८ मा फ्रान्सले क्रोएसियालाई हराउँदै विश्वकप जित्दा एम्बाप्पेले एक गोल गरेका थिए।
यस्तै अर्जेन्टिनाका इमिलियानो मार्टिनेजले गोल्डेन ग्लोभ जितेका छन्। कतार विश्वकपमा उनले तीन क्लिन सिट राखेका थिए भने दोहामा सबै खेलका सबै मिनेट खेलेका उनले फाइनलमा भएको पेनाल्टी सुटआउटमा फ्रान्सका किंग्सले कोमनको प्रहार रोकेका थिए।
यस्तै, अर्जेन्टिनाकै इन्जो फर्नान्डेज प्रतियोगिताका उदयीमान युवा खेलाडी चुनिएका छन्। उनले समूह चरणमा मेक्सिकोविरूद्ध गोल गरेका थिए। यस्तै फिफा फेयर प्लेको अवार्ड इंग्ल्यान्डले जितेको छ। ३२ राष्ट्र सहभागी विश्वकप मंसिर ४ गतेबाट दोहामा एक महिनासम्म चलेको थियो।