नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने बताएका छन्।
मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पार्टी संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि उनले प्रधानमन्त्री देउवाले उम्मेदवारी फिर्ता लिनेमा आफू विश्वस्त रहेको बताए।
उनले सभापति देउवाको उम्मेदवारी फिर्ताको निर्णयले सबै नेपाली कांग्रेसमा खुशी र उत्साह हुने बताए। महामन्त्री थापाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि कांग्रेसको भविष्यप्रति चिन्ता गर्न आग्रह गरे।
उनले संसदीय दलको निर्वाचन पार्टीको आन्तरिक निर्वाचन नभएकाले जनताले खोजेको प्रतिनिधिलाई संसदीय दलमा जिताउन आग्रह गरे। उनले संसदीय दलको नेताको चुनाव नेपाली कांग्रेसको भविष्य र अपेक्षासँग जोडिएको बताए। महामन्त्री थापाले नेपाली कांग्रेसको नेतृत्वको सरकारबाट जनताले सुशासनको अपेक्षा गरेको बताए।
‘प्रतिनिधि सभाको निर्वाचन भए पश्चात् प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरु मध्ये संसदीय दलको निर्वाचन हुन गइरहेको पार्टी नेपाली कांग्रेस मात्रै हो। नेपाली कांग्रेस भित्र हुन लागेको निर्वाचनले पनि कांग्रेस भित्रको आन्तरिक लोकतन्त्रको एउटा परिचय दिइरहेको छ। यो विषयमा हामीलाई सन्तोस र गौरव पनि छ’, उनले भने, ‘पार्टी सभापति सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराउनुभएको छ। उहाँले श्रद्धाका साथमा आग्रह छ । अबको दुई घण्टा पछाडि उम्मेदवारी फिर्ताको समय राखेका छौं। उहाँले शान्त मनले मनन गरेर उम्मेदवारी फिर्ता लिने कुरा नेपाली काँग्रेसको जीवनमा एउटा ऐतिहासिक दिन हुनेछ।’
महामन्त्री थापाको संसदीय दलको नेताका लागि प्रश्तावकमा डा. शेखर कोईराला रहेका छन् भने समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरूङ छन्। संसदीय दलको निर्वाचन बुधवार बिहान ८ बजेबाट १० बजेसम्म हुनेछ।
