नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन्। मंगलबार उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली निर्विरोध चयन भएका हुन्।
‘अध्यक्षज्यू संसदीय दलको नेतामा निर्विरोध चयन हुनुभएको छ,’ उपाध्यक्ष विष्णु पौडेलले भने। संसदीय दलको नेता चुनिएपछि ओलीले सांसदहरूलाई आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिएका छन्।
संसदलाई अकर्मण्यताबाट बचाउनका लागि एमालेका सांसदहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।
जनतासँगको सम्बन्ध पनि थप प्रगाढ बनाउन उनले सांसदहरूलाई निर्देशन समेत दिएका छन्। प्रतिनिधिसभामा एमालेका ७८ जना सांसद छन्।
संसदीय दलको बैठक कमलादीस्थित प्रज्ञा भवनमा बसेको थियो ।
संसदीय दलको बैठकले एमालेलाई लोकप्रिय मतमा पहिलो दल बनाएकोमा सम्पूर्ण मतदातालाई धन्यवाद दिएको गिरीले बताए । बैठकले बाजुरामा अनेरास्ववियुका नेता चेतन ऐडीको हत्यामा संलग्न दोषीमाथि कारवाहीको माग गरेको छ ।
