नेपाली कांग्रेसले आज निर्वाचनबाट संसदीय दलको नेता चयन गर्ने भएको छ। आज बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्न समय दिइएको छ। मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ।
संसदीय दल नेताका लागि दुई जनाले मनोनयन दर्ता गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका हुन्। संस्थापन पक्षबाट देउवा र संस्थापनइतर समूहबाट थापाले उम्मेदवारी दिएका छन्।
कांग्रेसबाट प्रतिनिधि सभामा ८९ जना सांसद छन्। उनीहरू नै मतदाता हुन्। महामन्त्री थापाका पक्षमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललगायत समर्थक छन्। उनीहरूले पार्टीभित्र रूपान्तरण र परिवर्तन जरूरी रहेको बताएका छन्।
सभापति देउवा पक्षले भने गठबन्धन गरेर चुनाव गरिएको र अब पनि गठबन्धनकै सरकार बन्ने भएकोले दल नेतामा देउवा हुनुपर्ने बताइरहेका छन्।
बालुवाटार स्रोत प्रधानमन्त्री देउवा नै संसदीय दलको अंकगणितमा बलियो भएको दाबी गरिरहँदा गगन स्रोतको पनि उही छ भनाई। संसदीय समीकरण हेर्दा देउवा बलियो छन्। यद्यपि महामन्त्री शर्मा र प्रदीपको ‘इन्ट्री’ले गगन थप बलियो भएका छन्। गगन स्रोतको दाबी छ, ‘४१ मत हाम्रो पक्षमा निश्चित भइसक्यो।’ केही मत तितरवितर नबने गगनले चमात्कारिक नतिजा निकाल्ने स्रोतको दाबी छ।
तर देउवा पक्ष भने चार शीर्ष नेताको सहयोग पाएर ढुक्क देखिन्छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले खुलेरै देउवाको साथ दिइसकेका छन् भने प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा शशांक कोइरालाको साथले देउवा संसदीय दलको नेतामा चुनिने निश्चित भएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले दाबी गरे।
‘सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित हुने कन्फम हो, संसदीय दलको अङ्क गणितमा ६७ सांसदको समर्थन पक्का भइसकेको छ,’ प्रेस प्रमुख परियारले भने।
दुई नेताको दाबी आआफ्नै भए पनि फैसला भने कांग्रेसका ८९ सांसदले नै गर्नेछन्। १० बजे मतदान सकिएलगत्तै मतगणना सुरु हुने र परिणाम एक घण्टामै आइसक्ने निर्वाचन समितिका संयोजक एवं सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए।