नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच खुमलटारमा भेटवार्ता भएको छ ।
शुक्रबार दुई नेताबीच भेटवार्ता भएको र सिंहले प्रचण्डसँग शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गरेर जान प्रस्ताव गरेका छन् ।
सिंहले कांग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठन गरेर जानेबारे छलफल गरेको तर प्रचण्डले नयाँ सरकारको नेतृत्व आफूले पाउनुपर्ने अडान राखेकाे सिंहका स्वकीय सचिव युपी लामिछानेले बताए ।
उनले भने, ‘आज बिहान दुई नेताबीच खुमलटारमा भेट भएको हो । भेटमा शेरबहादुर देउवाको नेतृत्वमा पहिला सरकार गठन गरौँ भनेर सिंहले पावर शेयरिङको प्रस्ताव राख्नुभयो । तर प्रचण्डले योपालि मलाई सहयोग गर्नुपर्यो भन्नुभयो ।’
नेता सिंह प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । प्रचण्ड प्रधानमन्त्रीमा पहिलो कार्यकाल आफूले पाउनुपर्ने अडानमा छन् ।
नेता सिंह माओवादी अध्यक्ष प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। बालुवाटारमा उनले प्रधानमन्त्री देउवालाई प्रचण्डसँग भएको छलफलबारे ‘ब्रिफिङ’ गरेको लामिछानेले जानकारी दिए।
प्रचण्डले पहिलो कार्यकाल आफूले पाउनुपर्ने अडान लिएपछि सत्ता गठबन्धनभित्र ‘पावर सेयरिङ’ मा कुरा मिल्न सकेको छैन। सत्ता साझेदार तीन दलका शीर्ष नेताबीच बालुवाटारमा बिहीबार साँझ भएको छलफल बिनानिष्कर्ष टुङ्गिएको थियो।
कुरा नमिलेपछि उनीहरू शुक्रबार अपरान्ह फेरि बस्ने गरी उठेको बालुवाटार स्रोतले जनाएको छ।
बिहीबार साँझ प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो।
स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले सत्ताको पहिलो नेतृत्व गर्ने पुरानो समझदारी कार्यान्वयन गराउनुपर्ने अडान लिएका थिए। तर कांग्रेसले अहिले प्रचण्डलाई प्रधानमन्त्री दिन नसक्ने बताएपछि कुरा नमिलेको स्रोतले जनाएको छ।
