काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार गठनका लागि ‘शक्ति बाँडफाँट’ गरेर जाने विषयमा लगातार छलफल भइरहेको छ ।
आम निर्वाचनले दिएको परिणामअनुसार पनि नयाँ सरकार गठनका विभिन्न विकल्प देखिएकाले एमालेले माओवादीसँग लगातार छलफल गरिरहेको छ ।
त्यसका लागि नेकपा एमालेका दोस्रो तहका नेताहरुले लगातार माओवादीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् ।
माओवादीबाट भने वर्षमान पुनले वार्ता जारी राखेको उच्च स्रोत बताउँछ ।
चुनावलगत्तै नेकपा एमालेका नेता विष्णु पौडेलले दाहाल निवास पुगेर प्रचण्डसँग छलफल गरेका थिए । त्यसपछि रघुबीर महासेठ, सुवास नेम्वाङ र योगेश भट्टराईले पनि माओवादीका अध्यक्ष दाहाललाई खुमलटार पुगेर भेटेको स्रोतले जानकारी दियो ।
“राष्ट्रपति र सभामुख लिएर तीनवर्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमालेका नेताहरु तयार हुनुभएको छ,” माओवादी उच्च स्रोतले कुराकानी गर्दै भन्यो, “प्रचण्डले सकेसम्म यही गठबन्धन जोगाएर पहिलो चरणमै प्रधानमन्त्री हुनुपर्छ भन्नुभएको छ ।”
एमाले सचिवालय बैठकमा सहभागी एक नेताका अनुसार बिहीबारको सचिवालय बैठकमा ओलीले गठबन्धन नटिक्ने निष्कर्ष समेत सुनाएका थिए । ‘यो गठबन्धन टिक्ने देखिँदैन । त्यसैले हामी हतारिन त जरुरी छैन । तर आफ्नो तर्फबाट तयारी भने गरिरहनुपर्छ’, ओलीको भनाइ उदृत गर्दै एक नेताले भने,‘ अहिले गठबन्धनले जर्वजस्त सरकार बनायो भनेपनि विश्वासको मत लिनेबेलासम्म पनि गडबड हुनसक्छ ।’
एमालेसँग हाल उपेन्द्र यादव नेतृत्वको जसपा, राप्रपालगायतका दलहरु नजिक छन् । यस्तोमा माओवादीले गठबन्धन छोडेर आएमा माओवादी, जसपा, राप्रपा र नागरिक उन्मुक्ति वा जनमतलाई समेत साथमा लिएर सरकार बनाउन भुमिका खेल्ने देखिन्छ । ७८ सिट रहेको एमालेमा माओवादीको ३२, राप्रपाको १४, जसपाको १२ सिट जोड्दा १३६ हुन्छ । यसमा सिके राउत वा रेशम चौधरीमध्ये एकलाई आफूतिर तानेर (१३८) बहुमतको आफूअनुकुल सरकार बनाउने एमालेको आन्तरिक रणनीति रहेको छ ।
