काठमाडौं – आगामी सरकार गठनलगायत विषयमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल निष्कर्षविहीन बनेको छ । दुवैले पहिलो चरणमा प्रधानमन्त्रीको दाबीबाट पछि नहटेपछि सहमति जुट्न नसकेको हो ।
माओवादी अध्यक्ष दाहालले पहिलो चरणमा आफू प्रधानमन्त्री बन्नु पर्ने अडान राखेका थिए । यता कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा कांग्रेसले सरकार नेतृत्व गर्न पार्टीभित्र चर्को दबाब आइरहेको सुनाएका थिए । उनीहरुबीच प्रधानमन्त्रीकै विषयमा सहमति जुट्न नसकेको हो ।
दुई नेताबीच करिब साढे दुई घण्टा छलफलमा ठोस समझदारी नबनेपछि शनिबार पुनः छलफल गर्ने गरी बैठक टुङ्गिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
काङ्ग्रेसले आफ्नो दाबी कायम राखेपछि मिल्ने सम्भावना कमजोर हुँदै गएको माओवादी निष्कर्ष छ।
बालुवाटारमा देउवासँग भेटेलगत्तै प्रचण्डको सम्पर्कमा पुगेका एक नेताले बताएअनुसार -‘काङ्ग्रेस पूर्व सहमति भत्काउन खोज्दैछ। त्यसमा सभापति देउवानिकट नेता नै सक्रिय भएका छन्।’
चुनावपछिको पहिलो सरकारको नेतृत्व आफूले गर्ने पूर्वसहमति भएको ती नेताले दाबी गरे। तर, शुक्रबार बालुवाटारको बैठकमा प्रधानमन्त्री देउवाले मिलाउने गरि निर्णय गर्न नचाहेको एक नेताले बताए।
उनका अनुसार भोलि ३ बजे बस्ने गरी आजको बैठक सकिएको हो । दाहाल पहिलो चरणमा गठबन्धनबाटै प्रधानमन्त्री बन्न खोजिरहेका छन् । गठबन्धनमा सहमति नभए एमालेसँग पनि माओवादीको सहकार्यको ढोका खुल्ला राख्न नेताहरू लागिपरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले यस अघि नै गठबन्धन तोडेर आए प्रचण्डलाई प्रधानमन्त्री दिन सकिने आशय व्यक्त गरिसकेका छन् ।
नयाँ सरकारका लागि राष्ट्रपतिले दिएको सात दिन आइतबार सकिँदै छ । संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न पुस १० गते अपराह्न ५ बजेसम्मको समय दलहरूसँग छ । यही समयभित्र दलहरूले बहुमत जुटाएर पेश गर्नुपर्नेछ । राष्ट्रपतिले दिएको समय सीमा सकिन २ दिन मा बाँकी रहँदा पनि दलहरूबीच अझै ठोस सहमति भएको छैन ।