काठमाडौं । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका छन् ।
एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ । माओवादी केन्द्रले लुम्बिनी र सुदूरपचिमको मुख्यमन्त्री लिने देखिएको एक नेताले बताए ।
मधेस प्रदेशको नेतृत्वमा भने जनता समाजवादी र जनमत पार्टीबीच आलोपालो गर्ने गरी सहमतिको प्रयास भइरहेको छ ।
त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । प्रचण्डलाई भेट्न पुगेका ओली उनको निवास खुमलटारबाट फर्केका छन् ।
सञ्चारमाध्यमसँग संक्षिप्त कुराकानी गरेका ओलीले सरकारकै विषयमा छलफल भएको बताए । ‘भर्खर सरकार गठन भएको छ, त्यसलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा भयो,’ उनले भने ।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भने सरकारको काम प्रभावकारी बनाउने विषमया छलफल भएको बताए । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने विषयमा पनि नेताहरुबीच कुराकानी भएको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि छलफल गर्ने तय भएको मल्लले जानकारी दिए । ‘सरकारको नीति कार्यक्रम कस्तो बनाउने, सरकारको कामकारबाहीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको हो,’ उनले भने ।
सरकारलाई पूर्णता दिने विषयमा बुधबार नै नयाँ वानेश्वरमा सत्ता साझेदार दलहरुको बैठक छ । त्यसअघि प्रचण्ड र ओलीले छलफल गरेकाले मन्त्री भागवण्डाका विषयमा पनि छलफल भएको हुन सक्ने नेताहरुले बताएका छन् ।
