काठमाडौं- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् । बुधबार बिहान सपरिवार देउवा बालुवाटारबाट धुम्बाराहीको भाडाको घरमा सरेका हुन् ।
बुढानीलकण्ठस्थित आफ्नो घर निर्माण भइरहेकाले केही समय उनी धुम्बाराहीस्थित घरमा भाडामा बस्ने देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए ।
उनले भने ‘बूढानीलकण्ठको घर निर्माण सकिन ३–४ महिना नै लाग्छ । निजी निवासमा सर्न अहिले सम्भव छैन । अहिलेका लागि भाडाको घरमा सरिरहेको हो ।’
१० पुसमा नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए । तर उनी तत्कालै बुढानीलकण्ठस्थित निवासमा सर्न सक्ने अवस्था नभएकाले भाडाको घर खोजिरहेका थिए ।
त्यसैले बालुवाटारबाट सर्न केही दिन लागेको सचिवालयको भनाइ छ । धुम्बाराहीमा खोजिएको भाडाको घरमा ४/५ वटा गाडी पार्किङमा अटाउन सक्ने ठाउँ छ ।
उता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नै वालुवाटार सर्ने तयारी गरेका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बालुवाटार छोडेर धुम्बाराही सरेपछि प्रचण्डले सर्ने तयारी गरेका हुन् ।
प्रचण्ड सचिवालय स्रोतका अनुसार बालुवाटारमा बुधबार साँझ सर्ने तयारी छ । बालुवाटार निवासमा महंगा सरसमान खरिद नगर्र्न प्रचण्डले यसअघि नै निर्देशन दिइसकेका छन् ।