नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन्।लामाले २१ मत ल्याएर संसदीय दल नेता भएका हुन्।
लामा सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। गत मंसिरमा भएको चुनावमा उनी नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए।
आज भएको चुनावमा अर्का उम्मेदवार ईन्द्रबहादुर बानियाँ भने पराजित भएका छन्। बानियाँ पहिले देउवानिकट थिए। तर उनी अहिले संस्थापनइतर समूहको समर्थनमा दल नेताका लागि उम्मेदवार भएका थिए।
बानियाँले १६ मत ल्याएका छन्। गत मंसिरमा भएको चुनावमा बानियाँ मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए।
बानियाँको प्रस्तावकमा सांसद प्रभात तामाङ तथा समर्थकमा छिरिङ दोर्जे लामा रहेका थिए भने लामाका प्रस्तावक कुन्दनराज काफ्ले र समर्थक उर्मिला नेपाल, तिर्थ बहादुर लामा, रमेश कुमार महत र रामकृष्ण चित्रकार रहेका थिए।
संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरि चुनावी कार्यक्रम सञ्चालन गरेको थियो।
मुखमै आइसकेको मुख्यमन्त्रीको गास खोसिँदा अब कांग्रेस प्रतिपक्षमा बस्न बाध्य देखिन्छ। जो संसदीय दलको नेता उही प्रदेशको मुख्यमन्त्री हुने मान्यताका कारण एकै गुटका नेताहरुबीचमा पनि निर्वाचन गर्ने सहमती भएको थियो।
बागमती प्रदेश सभामा कांग्रेसले ३७ सिट जितेको छ।
