जागरुक युवा अभियान नेपालको आयोजनामा दशौँ नेपाली टोपी दिवस मनाइएको छ । ‘नेपाली टोपी : नेपाली पहिचान’ भन्ने नाराका साथ युवाले टोपी दिवस मनाएका हुन् ।
नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७१ देखि दिवस मनाउन थालिएको हो । यस दिवसका अवसरमा धेरैले टोपी लगाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा नेपाली टोपी लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिएको छ ।

दश वर्ष अघिदेखि जनवरी १ तारिखका दिन नेपाली दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक तथा नेपाली टोपी लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ ।

नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोशाकको पुनर्जागरण हुन थालेको छ । औपचारिकरूपमा राष्ट्रिय पोशाक हटाइएपछि युवा जागरुक भएर यो अभियान सुरु गरेका हुन् ।
उत्साही युवा घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्दन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल, जनक कार्की र लक्ष्मण लम्सालले सुरु गरेको यो अभियान अहिले हजारौँ युवामाझ लोकप्रिय भएको छ ।
सुरुका तीन – चार वर्ष प्रचारप्रसार र यसको अवधारणा स्थापित गर्नमै लागेको थियो । तर यहाँसम्म आइपुग्दा टोपी दिवस सार्वजनिक पर्व वा दिवसकै रुपमा अहिले स्थापित भइसकेको छ ।

जागरुक युवा अभियान नेपालले अघिल्ला वर्षमा भेला भएर सामूहिक रूपमा टोपी दिवस मनाउँदै आएको अभियानले यस वर्ष औपचारिक कार्यक्रम नगरी सामाजिक सञ्जालबाटै मनाउन सबैमा आग्रह गरेको थियो ।
विगत वर्षहरुमा टोपी दिवसको अवसरमा अभियानले काठमाडौँको माइतीघर मण्डलामा भेला भई प्रभातफेरि कार्यक्रम गर्दै आएको थियो ।
