प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आपतकालिन मन्त्रिपरिषद् बैठक बोलाएका छन्। काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन्।
दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ।
‘कोही जिवित भेटिने हुने सम्भावना छैन,’ उनले भने,‘हामी शवहरू निकाल्दै छौं।’ जिल्ला प्रहरी प्रमुख अजय केसीका अनुसार पौने १२ बजेसम्म जहाजमा लागेको आगो निभाउन सकिएको छैन।
‘शवहरू डढेको अवस्थामा फेला परेका छन्,’ उनले भने। अवतरणका क्रममा रहेको जहाज विमानस्थलदेखि २ किलोमिटर पर सेतीको खोंचमा दुर्घटनामा परेको थियो।
