एक साताअघि सम्पन्न नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा दुईजना क्रिकेटर पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलम र क्रिकेटर आदिल अन्सारी रहेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।
क्रिकेटर मेहबुब मोरङबाट पक्राउ परेका हुन्। उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ।
‘मेहबुब पक्राउ परेका छन्। उनलाई अहिले हिरासतमा राखेका छौँ’, मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने, ‘उनलाई सीआईबीको आग्रह अनुसार काठमाडौं पठाउने तयारी गरेका छौँ।’
त्यस्तै आदिललाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। उनलाई पनि सीआईबीको आग्रहमा काठमाडौं पठाउन लागिएको एकजना प्रहरी अधिकारीले जानकारी दिएका छन्।
नेपाल टी२० लिगमा आदिल जनकपुर रोयल्सबाट खेलेका थिए। स्पट फिक्सिङको आशंका गरेपछि जनकपुरले आदिललाई खेलबाट बाहिर राखेको थियो।
नेपाल टी २० लिग चलिरहँदा स्पट फिक्सिङ र म्याच फिक्सिङ गरेको आरोप लागेको थियो। लिग भइरहँदा खेलमा मिलेमतो आरोपमा सीआइबीले अनुसन्धान गरिरहेको थियो।
त्रिवि क्रिकेट मैदानमा खेल चलिरहँदा स्पट फिक्सिङ र म्याच फिक्सिङ भएको आशंका गरिएको थियो। नेपाल टी २० क्रिकेट लिगमा म्याच फिक्सिङबारे अनुसन्धान थालेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यसअघि नै केही व्यक्तिलाई पक्राउ गरिसकेको थियो।
सीआईबीले यसअघि नै म्याच फिक्सिङ प्रकरणमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) सँग पनि जवाफ मागेको थियो।
यसअघि यो प्रकरणमा अध्यक्ष चतुरबहादुर चन्द र पूर्व कप्तान तथा म्यानेजर विनोद दाससँग सीआईबीले बयान लिइसकेको छ।
क्यान अध्यक्ष चन्दले म्याच फिक्सिङबारे आवश्यक अनुसन्धान गरिदिन भन्दै सीआईबीमा निवेदन पनि दिएका थिए। यसअघि नै सीआईबीले अन्य पदाधिकारी र खेलाडीलाई पनि सोधपुछका लागि बोलाएको थियो।
त्रिविमा क्रिकेट मैदानमा भएको नेपाल लिगमा म्याच फिक्सिङको सूचना बाहिर आएपछि सीआईबीले छानबिन गरेको थियो।
नेपाल टी २० लिग चलिरहेका बेला खेलाडीहरुले फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गरेका थिए। क्यानले लिग सञ्चालनको जिम्मा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससलाई दिएको छ।
यो कम्पनीले भारतमा बेटिङ समेत खेलाउने गरेको छ। त्रिविमा खेल सञ्चालन भइरहँदा पनि बेटिङ खेलाइरहेको अवस्थामा केही व्यक्ति पक्राउ परेका थिए। त्यसपछि खेलाडीकेन्द्रित अनुसन्धान सुरु भएको हो।
यसअघि म्याच फिक्सिङको चर्चा बाहिरिएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका थिए।
खेलाडीले पारिश्रमिक नपाएको र म्याचफिक्सिङको चर्चा बाहिरिएसँगै उनले प्रहरी प्रधान कार्यालयलाई छानबिन गर्न पत्रचार गरिएको थियो।