काठमाडौं – नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयन हुनु पर्ने निर्णय लिएको प्रवक्ता कृष्णबहादुर महराले बताए ।
बैठकपछि प्रवक्ता महराले भने, ‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेमा धेरैले जोड दिनुभएको छ । राष्ट्रिय सहमति भनेपछि कांग्रेस र एमाले कुनैको नाममा हुँदैन सबैको ।’
उनले राष्ट्रिय सहमति गर्नुपर्छ भन्ने आफूहरूको मत भएकाले के हुन्छ हेर्न बाँकी रहेको बताए । एमालेसहितको सबै पार्टीहरूसँग आफूहरुले छलफल गर्ने बताए।
दुई दिनसम्म चलेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले आफू एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भएको भन्दै बैठकमा पदाधिकारी र सदस्यसँग राष्ट्रपति चुनावमा उसकाे समेत विश्वास लिएर कसरी अघि बढ्न सकिन्छ भनी प्रश्न सोधेका थिए ।
धेरैजसो सहभागीले कांग्रेसलाई समेत विश्वासमा लिएर सहमति जुटाउने जिम्मा माओवादी केन्द्रको काँधमा आइपुगेको भन्दै त्यसैका लागि अघि बढ्न प्रचण्डलाई सुझाव दिएका थिए ।
