नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ। आज बालुवाटार पुगेर एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भइरहेको र जनतालाई बाँच्नसमेत धौ-धौ भइरहेको भन्दै ज्ञापन पत्र बुझाएका हुन्।
मजदुर, किसान र सर्वसाधारण जनताले महँगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेकोसमेत ज्ञापन पत्रमा उल्लेख छ। बढ्दो महँगी नियन्त्रण गर्नसमेत अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग माग गरेका छन्। महँगी बढ्दै जाँदा जनतामा निराशा र राजनीति प्रति नै वितृष्णा देखिएको एकीकृत समाजवादीको भनाइ छ।
‘आम जनताका समस्या समाधान गर्दै निराश हुनबाट जोगाउनु सरकारको कर्तव्य हो,’ ज्ञापन पत्रमा भनिएको छ। पुस २६ मा सरकारलाई विश्वासको मत दिए पनि एकीकृत समाजवादी प्रतिपक्षमा छ।
त्यसैले देशको अर्थतन्त्रमा सुधार ल्याउनका लागि तत्काल अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन एकीकृत समाजवादीले आग्रह गरेको छ ।
एकीकृत समाजवादीले संविधानमा उल्लिखित आर्थिक नीति कडाइका साथ लागू गर्न, युवा विद्यार्थी, बौद्धिक जनशक्ति पलायन रोक्नका लागि प्रभावकारी कदम चाल्न, कक्षा ८ देखि १२ सम्मको पाठ्यक्रममा अनिवार्य सीपमुलक तालिम र देशभक्तिपूर्ण पाठ राख्न लगायतका माग बुँदागत रुपमा ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

