काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् ।
सामाजिक सञ्जालमा चेतावनीयुक्त स्टाटस लेख्दै उनले लेखेका छन्, ‘म अभिमन्यु होइन ।’ आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले भनेका छन् ।
आफू अभिमन्यु नभएको बताउँदै उनले सामाजिक सन्जालमो लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो ।’
नागरिकता विवादमा सर्वोच्चको फैसलापछि सांसद र मन्त्री गुमाएका रविको आइतबार नेपाली नागरिकता कायम भइसकेको छ । उनी पुन: गृहमन्त्रालयमा फर्किन चाहेका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनलाई गृहमन्त्री दिन सकारात्मक छैनन् ।
गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने रविको पक्षमा उभिएका छन् ।
उनले भने, ‘कुन कुन पार्टीले के-के लिन सहमति पहिल्यै भएको हो । त्यहीअनुसार जानुपर्छ । रास्वपाले पनि आफूले पाउनुपर्ने कुरा दिनुपर्छ। छलफल भइरहेको छ । खटपट भएको छैन । हामीले गृहमन्त्रालय उहाँहरूलाई दिएका हौँ । रास्वपाले गृहमन्त्री रवि लामिछानेलाई बनाएको थियो । उनीहरूलाई गृहमन्त्रालय नदिने छुट्टै कुरा भएको भए त्यसले अप्ठ्यारो पैदा गर्छ तर, त्यस्तो भएको छैन ।’
