जुम्ला – चौंथो संस्करणकाे ‘जुम्ला रारा अल्ट्रा म्याराथन’ सुरू भएको छ। कर्णालीकाे प्रसिद्व चन्दननाथ मन्दिरदेखि रारा तालको छेउ हुटुसम्मको ४९ किलोमिटर दुरीमा अल्ट्रा म्याराथन साेमबार सुरू भएको हो।
म्याराथनमा पुरुषतर्फ दलबहादुर कुँवरले ४ घण्टा ५४ मिनेट १० सेकेण्डमा दुरी पार गर्दै नयाँ रेकर्ड कायम गरेका छन् यसअघि सो रेकर्ड दुर्गा बुढाको नाममा ५ घण्टा २ मिनेट २० सेकेण्डको रहेको थियो।
त्यस्तै, द्वितीय भएका धिर बहादुर बुढाले ४ घण्टा ५७ मिनेट ५७ सेकेण्डमा दुरी पार गर्न सफल भए। त्यस्तै तृतीयमा शेर बहादुर बुढा, चौथो लाल चन्द्र महत र पाचौं सोम बहादुर राउत भए ।
त्यस्तै महिलातर्फ मन्जु राउतले पनि ६ घण्टा ६ मिनेट २३ सेकेण्डमा दुरी पार गर्दै नयाँ रेकर्ड कायम गरेकी छन्। उनले पनि शारधा भण्डारीको नाममा रहेको ६ घण्टा ३४ मिनेट ४१ सेकेण्डको रेकर्ड तोडेकी हुन्। द्वितीयमा गगना भण्डारी, तृतीयमा अनिता बुढा, चौथोमा अम्मकाली बुढा र पाँचौं कुशा बुढा रोकाया भएकी छन्। म्याराथनमा पहिलो हुनेले १ लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे।
म्याराथन प्रतियोगितामा २५० खेलाडी सहभागी भएका छन् । रारा ४९ किलोमिटर दौड, पाँच हजार मिटर र एक हजार मिटर दौड प्रतियोगिता आयोजना गरिएको हो ।
४९ किलोमिटर दौडमा १२ महिलासहित ५१ जना, एक हजार मिटर दौडमा ८७ जना र पाँच हजार मिटर दौडमा १०७ जना खेलाडी गरी करिब साढे दुई सय खेलाडी प्रतियोगितामा सहभागी भएका थिए ।

प्रतियोगिताको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरे । उनले कर्णालीको आर्थिक, सामाजिक तथा पर्यटन विकासका लागि खेल क्षेत्रको प्रवद्र्धन आवश्यक रहेको बताए ।
‘कर्णाली समृद्धिको आधारमध्ये एउटा पर्यटन हो र पर्यटनलाई खेलकुदले प्रवद्र्धन गर्छ,’ उनले भने , ‘कर्णालीको पर्यटन प्रवद्र्धनमा अल्ट्रा म्याराथन कोशेढुंगा साबित हुनेछ । कर्णाली सरकार खेलकुदको प्रवद्र्धन गर्न तयार छ ।’ मुख्यमन्त्री शर्माले विकास र समृद्धिका लागि खेल क्षेत्रको विकास आवश्यक रहेको बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले जुम्लाले खेलकुदमा गरेको महत्वपूर्ण योगदानको प्रशंसा गर्नुभयो । जुम्ला-रारा म्याराथनलगायत अन्य खेलको प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ थियो ।
परिषद्ले यसै आवमा जुम्लाको पातारासीमा बन्दै गरेको हाईअल्टिच्युड ट्रेनिङ सेन्टरका लागि बजेट विनियोजन भइसकेको जानकारी उनले बताए । हरिबहादुर रोकायाले नेपाल र जुम्ला चिनाउनुका साथै आफूमात्रै नभएर धेरै खेलाडी जन्माएकोमा गौरव भएको उनले बताए । हरेक वर्ष कर्णाली स्पोर्ट्स क्लबले अल्ट्रा-रारा म्याराथन आयोजना गर्दै आएको छ ।

एक किलोमिटर
केटा
प्रवेश कठायत– प्रथम
हिमाल महतारा– द्वितीय
विवेक कामी– तृतीय
केटी
सगिना बाेहाेरा– प्रथम
सनिका सार्की– द्वितीय
निरुता बुढा– तृतीय
खुला पाँच किलोमिटर
केटा
अक्कल बडुवाल– प्रथम
जमन बुढा– द्वितीय
लक्ष्मण बुढा– तृतीय
केटी
संगिता बुढा– प्रथम
सुशीला बुढा– द्वितीय
गाैकला रावत– तृतीय
कर्मचारीहरु पाँच किलोमिटर
दीर्घबहादुर थापा– प्रथम
हर्क रावत– द्वितीय
देवीबहादुर महतारा– तृतीय
वृद्धहरु पाँच किलोमिटर
परागराज उपाध्यक्ष (७० वर्ष)– प्रथम
जयकृष्ण आचार्य (६८ वर्ष)– द्वितीय
माधवराज देवकाेटा (६३ वर्ष)– तृतीय
