घरेलु मैदानमा युएईलाई पराजित गर्दै नेपालले अर्को वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने विश्वकपमा स्थान पक्का गरेको छ।यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनाेट भएको हो।

जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७. १ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल २० बलमा २ चौका र २ छक्कासहित ३४ रनमा नट आउट रहे । नेपालका आसिफ शेख ५१ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा नट आउट रहे ।

नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३ ओभरमा २६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर निलांश केस्वानीको बलमा ठूलो सर्ट खेलेका कुशल भुर्तेल लङअनमा मोहम्मद वासिमबाट ११ रनमा क्याच आउट भए । भुर्तेलले ८ बलमा २ चौका हानेका थिए ।

दोस्रो विकेटका लागि गुलशन झा र आसिफ शेखले ४१ रनको साझेदारी गरेका थिए । बासिल हामिदले दशौं ओभरको तेस्रो बलमा गुलशनलाई २२ रनमा बोल्ड आउट गरे । गुलशनले २४ बलमा ३ चौका प्रहार गरे । युएईका निलांश केस्वानी र बासिल हामिदले समान एक एक एक विकेट लिए ।

आइसीसी टि २० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको सेमिफाइनलमा युएईलाई विकेटले पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट भएको हो। एसियाबाट दुई टोली विश्व कपका लागि छनोट हुँदा ओमानले पनि आफ्नो स्थान पक्का गरेको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले आजको खेलमा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रर्दशन गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here