- भीम राई
आमा
तिमी नभएपछि
तिमीलाई गुमाएपछि
मैले छिचोल्नु पर्यो
दुःखको पहाड
मैले पन्साउनु पर्यो
बाटोको काँडा
मैले खेप्नु पर्यो
पिडाका अनगिन्ती झमेलाहरु
आमा
तिमीले छाडेर गएपछि
मृत्युलाई अंगालेपछि
छोरालाई सन्दिपातले भेट्यो
जहानलाई अस्पताल पुराउनु पर्यो
अनि शुरु भयो खेपाईहरु
त्यहाँ पो देखियो
छिमेकीको हेपाईहरु
आमा
तिमीले नदेखेपछि
मुसुक्क मुस्कुराउँदै नबोलेपछि
आएन शरिरमा उर्जाहरु
वर्षै बित्यो अभाव र तनावमा
कसरी सुनाउँ
कसलाई भनु म
आमा तिमि नै नभएपछि
नजिकको तिमीले
छाडेर गएपछि
घुरेनमा आरु बखडा यसपाली फलेन
घरबारीको पाङदुर कोदो भएन
तल्लोबारीमा पिडालु मासियो
साउनेबारीमा भटमास सुकेर गयो
बेसीमा धानको खेती
बीउ नै हरायो
खै के भो ? के भो?
तिमी नै नभएपछि
आमा
तिमीले संसार छाडेपछि
टुहुरा मलाई पारेपछि
निद पनि खोसियो
रोजगारी लुटियो
भएका सम्वन्ध टुटदै गयो
मुल नदि जस्तो जिन्दगीमा
भंगालो जस्तै छुटियो
खै कस्तो ? कस्तो ? भयो
बारीको डिलमा
तिमी पुगेपछि
आमा
आजकल न चरीले गाउँछ
न सुन्दर विहानी आँउछ
डालीमा बसेर टोलाउँछ ढुकुर
बास्दैन वासमा
बासेको भाले
झोक्राएको छ आगनको डिलमा
रोपेको काँचोपात
ढुसी पलाएको छ बुछालु
छैन कठुवामा तिनपाने
तिमीले नै छाडेर गएपछि
आमा
तिमीले जस्तो
न कसैले भोकाको सोध्छ
न कसैले दुखेको बुझ्छ
थैलिको पैसा राखेर
न कसैले जोहो गर्छ
पोल्टामा बोकेर
चिराईतो, ऐसेलुको मुन्टा
र ढुङ्ग्रेको जरा
औषधी भन्दै
न कसैले चिनाइ नै दिन्छ
तिमीले नै चोला उठाएपछि
आमा
कोलो कोलो भन्दै
डाक्दैनन सातो
कहाँ गईस छोरा
छिटो फर्कि
भन्दै
बोलाउँदैनन् मायाले
पुज्दै पुज्दैनन हामीलाई
बुझ्दै बुझ्दैनन् हामीलाई
आमा
तिमी नै नभएपछि
तिमीले नै छाडि गएपछि …