टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको क्लाउड फ्याक्ट्रीले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै ९९ रन बनायो। टोलीका लागि कप्तान सुबोध धुंगेलले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ५२ रन बनाए। जनार्दन बञ्जाडेले १९ रन जोड्दा रतिश श्रेष्ठले १० रनको योगदान दिए।
एनसेलका लागि अनिल महर्जनले २ विकेट हात पारे। त्यस्तै, अनिल भण्डारी र अंकित क्षेत्रीले समान १र१ विकेट लिए।१०० रनको लक्ष्य पछ्याएको एनसेल पनि कडा प्रतिस्पर्धा गर्यो तर १० ओभरमा ६ विकेट गुमाउँदै ९७ रनमै सीमित भयो। समज पौडेलले अविजित ४२ रन बनाउँदै टोलीलाई जिततर्फ लैजान प्रयास गरे भने प्रज्वोल प्रजापतिले २७ रनको महत्वपूर्ण योगदान दिए।

क्लाउड फ्याक्ट्रीका बलरहरूले एनसेल माथि दबाब सिर्जना गरेका थिए। नविन रोकायाले १ विकेट लिए भने जुलेन महर्जनले पनि १ विकेट हात पारे। साथै, फिल्डिङतर्फ पनि टोली निकै प्रभावशाली देखियो जहाँ अन्य ३ विकेट रनआउटमार्फत हासिल गर्दै क्लाउड फ्याक्ट्रीले खेल आफ्नो पक्षमा पार्यो । क्लाउड फ्याक्ट्रीका कप्तान सुबोध धुंगेल म्यान अफ द म्याच’ घोषित भए। उनले शानदार ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका थिए।
टेक्सपायर कर्पोरेट टी-१० को दोस्रो दिनको दोस्रो खेलमा सुबिशुले शानदार प्रदर्शन गर्दै सिप्रडी ७ विकेटको सहज जित दर्ता गरेको छ।टस हारेर पहिले ब्याटिङ गरेको सिप्रडी ले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै १०७ रन बनायो। टोलीका लागि प्रल्लब राज श्रेष्ठले विस्फोटक ब्याटिङ गर्दै अविजित ४९ रन बनाए भने युगेश न्यौपानेले १३ र दिपेश श्रेष्ठले १५ रनको योगदान दिए।
सुबिशु का बलरहरू मध्ये हिमाल चन्द सबैभन्दा प्रभावशाली देखिए, उनले २ ओभरमा मात्र ६ रन खर्चेर १ महत्वपूर्ण विकेट लिए। निराजन परियालले २ ओभरमा २२ रन दिँदै १ विकेट लिए भने अन्य बलरहरूले पनि दबाब कायम राख्ने प्रयास गरेका थिए।

१०८ रनको लक्ष्य पछ्याएको सुबिशुले आक्रामक सुरुवात गर्दै ८।१ ओभरमै लक्ष्य पूरा गर्यो। बिबेक कुमार यादवले ३५ रन बनाउँदै राम्रो सुरुवात दिलाए भने दमन चन्दले विस्फोटक अविजित ३९ रन प्रहार गरे। विष्णु धमलाले अविजित २ रन जोड्दै टोलीलाई जितसम्म पुर्याए।
बलिङतर्फ सिप्रडी का प्रल्लब राज श्रेष्ठ चम्किए, उनले महत्वपूर्ण २ विकेट लिए। साथै, शैलेन्द्र नेपालले १ विकेट हात पार्दै केही समय खेलमा फर्काउने प्रयास गरे पनि सुबिशु लाई रोक्न पर्याप्त भएन। सुबिशुका लागि उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै अविजित ३९ रनको निङ्स खेलेका दमन चन्द ‘म्यान अफ द म्याच’ घोषित भए।
टेक्सपायर कर्पोरेट टी-१० लिग अन्तर्गत आजको तेस्रो खेलमा आईसिएफसी फाइनान्सले टेक्सपायर माथि एकतर्फी प्रदर्शन गर्दै ९४ रनको विशाल जित दर्ता गरेको छ।
पहिले ब्याटिङ गरेको आईसिएफसी फाइनान्सले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै १४४ रनको विशाल स्कोर खडा गर्यो। टोलीका लागि सुभाष भण्डारीले विस्फोटक ५० रन बनाए भने सोमेश यादवले ३९ रनको उत्कृष्ट योगदान दिए। सन्तोष साहले अविजित २२ रन थप्दै स्कोरलाई मजबुत बनाए।
बलिङतर्फ टेक्सपायर का बलरहरू दबाबमा देखिए। सगुन वैद्यले १ विकेट लिए भने अन्य बलरहरूले महँगो स्पेल फाले।१४५ रनको लक्ष्य पछ्याएको टेक्सपायर सुरुदेखि नै दबाबमा रह्यो र ८.५ ओभरमै ५० रनमा समेटियो। बसु नेपालले १६ रन बनाए पनि अन्य ब्याट्सम्यान टिक्न सकेनन्।
आईसिएफसी फाइनान्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। सन्तोष साहले २ महत्वपूर्ण विकेट लिए भने सोमेश यादवले पनि २ विकेट हात पारे। सन्जोग गुरुङ्ले १ , नितेश तिवारीले १ विकेट लिए, साथै एक रनआउट पनि भएको थियो। आईसिएफसी फाइनान्सका सोमेश यादव खेलका ‘म्यान अफ द म्याच’घोषित भए। उनले अलराउन्ड प्रदर्शन गर्दै पहिले ब्याटिङमा शानदार ३९ रन बनाए भने बलिङतर्फ पनि २ महत्वपूर्ण विकेट लिएका थिए।
