काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र पूर्वकप्तान ज्ञानेन्द्र मल्ल नयाँ जिम्मेवारीका साथ नेपाल एपीएफ क्लबमा जोडिएका छन् । बिहीबार काठमाडौंको हल्चोकस्थित एपीएफको मुख्य कार्यलयमा रोहित कप्तान र ज्ञानेन्द्र मुख्य प्रशिक्षकको रुपमा सम्झौता गर्दै टोलीमा आवद्ध भएका हुन् ।
शनिबार देखी सुरु हुने प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय प्रतियोगितामा रोहित र ज्ञानेन्द्रको जोडीले एपीएफको टोली सम्हाल्नेछन् । ज्ञानेन्द्रले राष्ट्रिय स्तरमा पहिलो पटक प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । अघिल्लो महिनामात्रै ज्ञानेन्द्र, शक्ति गौचन र गण्डकीका रिजन प्रजुले सिंगापुर पुगेर आइसिसी लेभल टु कोचिङ कोर्ष गरेका थिए ।
नेपाली क्रिकेटका एक सर्वाधिक सफल ब्याटर ज्ञानेन्द्रले गत साउनमा खेलाडी करिअरबाट सन्न्यास लिएका थिए । ज्ञानेन्द्रसँग काठमाडौं क्रिकेट टेनिङ सेन्टरमा झन्डै एक दशक प्रशिक्षकको भूमिका निर्वाह गरेको अनुभव छ ।
ज्ञानेन्द्रले २०११ देखी २०१९ सम्म एपीएफमा रहेर टोलीको नेतृत्व गरेका थिए । त्यसपछि ज्ञानेन्द्रले घरेलु क्रिकेट बागमतीबाट खेलेका थिए । एपीएफले उनलाई दीर्घकालिन रुपमा हेरेको बताएको छ ।