काठमाडौं – नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी२० विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिज जाने पक्का भएको छ। बुधबार उच्च अदालत, पाटनले सफाइ दिएपछि सन्दीपलाई टोलीमा विश्वकप खेल्न पठाउन क्यानले प्रक्रिया सुरु गरेको थियो।
क्यानकै आग्रहमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन्दीप विश्वकप खेल्ने बाटो खोलिदिएको हो । सन्दीपको नाम यस अघि खेल्ने सूचीमा दर्ता नभएकाले उनले विश्वकप खेल्ने सम्भावना थिएन । यसअघि सन्दीपको मुद्दा चलिरहेकाले क्यानले सन्दीपबाहेक १५ सदस्यीय टोली घोषणा गर्दै आईसीसीमा पठाएको थियो।
आईसीसीको स्वीकृतीसँगै उनी शनिबार त्यसतर्फ उड्नेछन्। क्यानले यसअघि आईसीसीमा विश्वकप खेल्ने टोलीका सदस्य परिवर्तन गर्ने समय मे २५ अर्थात् जेठ १२ गतेसम्म छ। क्यानले २०८० पुस २६ गते घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट पूर्वकप्तानसमेत रहेका सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको थियो।
जिल्ला अदालतले दोषी ठहर गरेलगतै निलम्बनमा परेका सन्दीप झण्डै ५ महिनापछि मैदान फर्किन लागेका हुन्। टी–२० विश्वकप क्रिकेट अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सुरु हुनेछ। १० वर्षअघि पारस खड्काको कप्तानीमा पहिलोपटक विश्वकप खेलेको नेपालले अहिले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली त्यहाँ पठाइसकेको छ। टोली अहिले दुवै देशमा अभ्यास खेल खेलिरहेको छ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ।
