काठमाडौं– बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाई भक्तपुरको ठिमीस्थित घरबाट पक्राउ परेका छन् ।
गत असोज २ गते विद्युतीय कसुरसम्बन्धी अभियोगमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी उनको घरमा पुगेको हो ।
उनलाई काठमाडौंस्थित साइबर ब्यूरो र जिल्ला प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ गर्न पुगेको टोलीलाई प्रसाईं र उनका गार्डले अवरोध गरेका थिए ।
त्यसपछि प्रहरीको टोली घरमा भर्याङ लगाएर छिरेर पक्राउ गरेको हो । प्रहरीले प्रसाईंलाई पक्राउमा अवरोध गर्ने सुरक्षागार्डलाई पनि समातेको छ ।
गत बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले मेडिकल व्यवसायी प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रसाईंसँगै युट्युबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध पनि विद्युतीय कारोबार ऐन अनुसारको कसुर गरेको आरोपमा पुर्जी जारी भएको थियो ।