काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दशैँपछि सरकार फेरिन्छ भनेर चलाइएको हल्ला सत्य नभएको र यही सरकार ०८४ सालको चुनावसम्मै कायम रहने भएकाले यस्ता प्रायोजित भ्रममा नपर्न आग्रह गरेका छन्।
दशैँलगत्तै सरकार परिवर्तन हुन्छ भन्ने भ्रम फैल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता खालको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे। उनले बरु ०८४ सालको दशैँपछि सरकार परिवर्तन हुने व्यंग्य गरे।
६९औँ प्रहरी दिवसको अवसरमा बुधवार काठमाडौँमा आयोजित कार्यक्रममा कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकार करिब दुई तिहाईको सरकार भएको भन्दै उनले त्यसलाई खरानीको डल्लो नसम्झन पनि चेतावनी दिए।
‘लोकतन्त्रको कुरामा कम्परमाइज हुन सक्दैन‚ लोकतान्त्रिक प्रणालीमार्फत जुनसुकै परिवर्तन पनि ल्याउन सकिन्छ। चुनाव गरौँ, चुनावमा जाऔँ तर अलोकतान्त्रिक विधि, अलोकतान्त्रिक बाटोबाट परिवर्तनका कुरा भनेको अराजनीतिक‚ अलोकतान्त्रिक हो‚’ उनले भने, ‘र म सबैलाई आग्रह गर्न चाहन्छु कि कुनै पनि प्रकारका भ्रमहरुमा नपर्न म आग्रह गर्न चाहन्छु। अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने पनि सुनिन्छ‚ दशैँपछि तुरुन्त परिवर्तन हुन्छ रे! कुन दशैँपछि? ०८४ सालको दशैँपछिको चुनावमा?’
प्रधानमन्त्री ओलीले २ वर्षे आफ्नो कार्यकाल पूरा हुने बित्तिकै कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पनि दोहोर्याए। उनले देउवाले चुनावी सरकारको नेतृत्व गर्ने र चुनाव सम्पन्न भएपछि नयाँ सरकार बन्ने तर त्यसअघि कांग्रेस–एमाले गठबन्धन सरकार कायमै रहने दावीसमेत गरे।
‘मेरो १ वर्ष ९ महिना जति रह्यो होला। त्यसपछि शेरबहादुरजीलाई हस्तान्तरण गर्छु भनेर मैले पहिला नै भनिसकेको छु। त्यसपछि आफैँ फेरिन्छ यो सरकार। त्यसपछि शेरबहादुरजीले नेतृत्व गर्नुहुन्छ र चुनाव उहाँको नेतृत्वमा हुन्छ ०८४ सालमा‚’ उनले भने, ‘त्यसपछि चुनावबाट जो आउँछ, उसले सरकार बनाउँछ । यस कुरामा सबैलाई ढुक्क रहन म आग्रह गर्न चाहन्छु। सरकार लगभग दुई तिहाईको छ भन्ने कुरा सबैमा हेक्का रहोस्‚ यो खरानीको डल्लो होइन।’
प्रधानमन्त्री ओलीले वर्तमान शासन प्रणालीको विकल्प सोच्न पनि नसकिने पनि बताए। त्यस अवसरमा उनले नेपाल प्रहरीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रको दिएको योगदानको प्रशंशासमेत गरे।