काठमाडौं– हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने हाँडीगाउँ जात्रा शुक्रबार मनाइएको छ ।ब्रह्मा, विष्णु र महेश्वर भगवानको पूजाआराधना गरी टोलटोलमा रथ घुमाएर काठमाडौंमा हाँडीगाउँको जात्रा मनाइएको हो ।
विशेष प्रकारको फूल र रथ परिक्रमा गरिने छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँको जात्रा प्रत्येक वर्षको बडा दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौंको हाँडीगाउँमा मनाइँदै आएको छ ।हाडीगाउँमा निकालिएको जात्रा हेर्न सर्वसाधारणहरूको घुइँचो लाग्ने गर्दछ । जात्राका दिन दर्शन र पूजाका लागि तीन वटै रथ तीन वटा भिन्न चोकमा राख्ने र घरघरबाट आएर पूजा गर्ने चलन छ ।
अन्य जात्रामा माथि गजुर र तल भगवानको मूर्ति अर्थात् आकृति हुन्छ भने हाँडीगाउँको जात्रामा यसको ठिक उल्टो अर्थात् तल गजुर र माथि देवताको मूर्ति राखिन्छ ।
जनजिब्रोमा ‘कहीँ नभएको जात्रा हाँडीगाउँ’मा भनिए पनि यो जात्राको असली नाम भने ‘चोक्टे नारायण’ जात्रा हो। यो जात्राको विशेष आकर्षण भनेको जात्रामा पुजिने र नगर परिक्रमा गराइने तीन खट हुन्। साबिकका जात्राको रथ अथवा खट प्यागोडा शैलीमा बनाउने गरेको पाइन्छ। तर हाँडीगाउँमा मनाइने जात्राको खट त्यसको ठ्याक्कै उल्टो हुन्छ। खटको गजुर फेदमा र भगवान्को मूर्ति टुप्पोमा हुन्छ। तीनतले छत्रजस्तो देखिने गजुर मुनितिर फर्काई सिस्वाँ (मैनको फूल)ले छोपेर विचित्र ढंगले जात्रा हुन्छ। चोक्टे नारायणको जात्रामा हाँडीगाउँको तीन टोलका तीन खट स्थापित हुन्छन्। गहनापोखरीको सिधा पूर्वमा रहेको टोल कोटोल हो जहाँ महेश्वरको खट बनाइन्छ।

