चिनियाँहरुकै अगुवाइमा दोस्रो पटक पोखराको फेवातालमा आयोजना गरिएको ड्रागन बोट रेसमा चिनियाँ टिमहरू विजयी बनेका छन् । सोमबार सकिएको पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट आमन्त्रण प्रतियोगिता २०२४ तथा दोस्रो नेपाल–चीन मैत्री ड्रागन बोट रेसमा चिनियाँ टिमहरू विजयी बनेका हुन् ।
पोखराको फेवातालमासोमबार सम्पन्न २०० र ५०० मिटर फाइनल रेसमा चीनको डोङग्वान लाओयू क्लब टिमले दोहोरो उपाधि जितेको छ। दोहोरो उपाधिसँगै उसले नगद १० हजार डलर हात पारेको छ।
डोङग्वान लाओयू क्लबले २०० मिटरको निर्धारित दूरी ००ः४७ः७२० मिली सेकेण्डमा पार गर्दै च्याम्पियन हुँदा ५०० मिटरतर्फ समेत २ मिनेट ०४.४७ सेकेण्डमा दूरी पार गर्दै च्याम्पियन बनेको हो।
त्यस्तै २०० मिटरतर्फ एक सेकेण्डले पछि रहेको चीनकै युनान मिन्जु युनिभर्सिटी टिम दोस्रो भएको छ। उसले ००ः४८ः२२० मिली सेकेण्डमा दूरी पार गर्न सफल भयो भने चीनकै लिआओचिङ यूनिभर्सिटी टिम ००ः५०ः८३० मिलिसेकेण्डमा दूरी पार गर्दै तेस्रो भएको छ।
त्यस्तै सोही स्पर्धामा युनान प्रान्तको नर्मल विश्वविद्यालय ००ः५१ः१६० मिलिसेकेण्डको समयमा चौथो स्थान प्राप्त गरेको छ। यस्तै ५०० मिटर ड्रागन बोट रेसमा लिआओ चेङ युनिभर्सिटी छिम दोस्रो बनेको छ।
उसले निर्धारित दूरी २ मिनेट ७.३४ सेकेण्डमा पूरा गरेको थियो भने प्रतियोगितामा यूहान युनिभर्सिटी टिम तेस्रो भएको छ। उसले निर्धारित दूरी पार गर्न २ मिनेट ८.४४ सेकेण्डको समय लिएको थियो।
प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर विजेता टोलीले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद ५ हजार अमेरिकी डलर, उपविजेताले २ हजार डलर र तृतीय भएको टोलीले एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् भने अन्य सहभागी टिमहरुलाई नगद ५ सय डलर प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा नेपाल, चीन र सिङ्गापुरका २० टोली सहभागी थिए। प्रतियोगितामा चीनको ८, सिङ्गापुरको एक र बाँकी ११ टोली नेपालका विभिन्न प्रदेशबाट सहभागी रहेका थिए।
प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित ११ टोलीको सहभागिता थियो।