काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी बढेको भन्दै ठगीबाट बच्न अनुरोध गरेको छ।
सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले हालैमात्र पोखरामा ५७ लाख, चितवनमा १६ लाख, नेपाल सरकारका कर्मचारीहरुको ५ लाख ५० हजार, विभिन्न कम्पनी तथा सर्वसाधारणहरुको करोडौँ रकम ठगी भएको र उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिँदै त्यस्ता लोभमा नफस्न अनुरोध गरेका छन्।
आज सिआइबीले सात बुँदामा विज्ञप्ति जारी गर्दै केही दिन यता सामाजिक सञ्जालहरु जस्तै फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाइबर तथा इमोलगायतबाट फोन गरी डिजटिल वालेट तथा बैंक÷वित्तीय संस्थाबाट बोलेको भनी विभिन्न अपरिचित नम्बरहरुबाट फोन गरी वा म्यासेज गरी नेपाल सरकारका कर्मचारीहरु तथा आम सर्वसाधारणहरुलाई समेत धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी गर्ने गरिएको पाइएको जानकारी गरेको छ।
यस्ता घटनाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको सिआइबीले जनाएको छ। त्यस्ता ठगीबाट बच्न अनुरोध गर्दै सिआइबीले विभिन्न सातबुँदे ध्यानाकर्षण पनि सार्वजनिक गरेको छ।
यस्ता छन् सात बुँदा
सिआइबिले इसेवा खल्ती जस्ता वालेट, बैंक तथा वित्तीय संस्थाहरुको लोगोसमेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति भनी कल गर्ने तथा पटक–पटक गलत पासवर्ड राखेर वालेट अल्पकालीन बन्द गर्ने, त्यही समय वालेट प्रयोगकर्तालाई कल गरी तपाईंको यसमा समस्या आएको छ म सेवा प्रदायक कम्पनीबाट बोलेको भनी ओटीपी माग गर्नेहरुसँग सावधानी हुन अनुरोध गरेको छ।
सावधानी नभए क्षणभरमा नै उक्त वालेटमा भएको पैसा अन्य व्यक्तिको वालेटमा वा बैंक खातामा ट्रान्सफर हुने भनी सजक पनि गराएको छ।
यस्तै सामाजिक संजालमा विभिन्न खालका प्रलोभनमा पार्ने म्यासेजहरु पठाउने र विभिन्न किसिमका एआइले बनाएको आवाजबाट कल गरी तपाईंको सामान आएको छ, तपाईलाई फाईदा हुने खालको ब्यापार छ भन्ने जस्ता लिंक पठाई खोल्न लगाउने र लिंक खोल्ने वित्तिकै युजर नेम र पासवर्डमा पहुँच पुर्याएर पैसा रकमान्तर गर्ने गरेको भन्दै त्यसतर्फ पनि सावधानी हुन सिआइबीले अनुरोध गरेको छ।
अनलाईन व्यापारको नाममा सामाजिक सञ्जालमा विभिन्न साईटहरु खोली सामानको आकर्षक फोटो भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न बैंक खातामा रकम माग गर्ने र रकम प्राप्त गरिसकेपछि सामान डेलिभरि नगरी सम्पर्कविहिन हुने अवसथ समेत रहेको प्रहरीले जनाएको छ।
यस्ता कार्यमा यस्तो कार्यमा हालसम्म ५०० भन्दा बढी फोन नम्बरहरु सक्रिय भएको हुँदा यस्ता अपरिचित नम्बरहरुबाट आएका फोन तथा मेसेजहरु नउठाउन तथा रिप्लाई नगर्न पनि सिआइबीले सबैमा अनुरोध गरेको छ।
यस्ता किसिमका ठगीमा संलग्न व्यक्तिहरुको सम्बन्धमा कुनै जानकारी भएमा यस केन्द्रीय अनुसन्धान ब्यूरो तथा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरिएको प्रवक्ता बोगटीले बताए।