काठमाडौँ – सरकार पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा दुर्गा प्रसाईंसहितको समूह हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै कारबाहीको तयारीमा जुटेको स्रोतले जनाएको छ।
सरकारले पूर्वराजालाई उपलब्ध गराउँदै आएको सेवा सुविधा र सुरक्षा फिर्ता लिने, साथै उनको पासपोर्ट रद्द गर्ने तयारी गरेको स्रोतको दाबी छ। हिंसात्मक आन्दोलनपछि पूर्वराजा विदेश पलायन हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै यस्तो कदम चालिन लागेको बताइएको छ।
यस विषयमा सरकार गणतन्त्रवादी दलहरूसँग परामर्शमा जुटेको छ भने प्रतिपक्षी दलहरूले ज्ञानेन्द्र शाहमाथि कारबाही अघि बढाउन दबाब दिइरहेका छन्।
यसअघि, झापाका व्यवसायी दुर्गा प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔँ’ नामक महाभियान सञ्चालन गरेका थिए, जसको उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहले गरेका थिए। यस अभियानले संघीयता खारेज गर्ने, हिन्दू राष्ट्र पुनर्स्थापना गर्ने, २०४७ सालको संविधान पुनः लागू गर्ने जस्ता मागहरू अघि सारेको थियो।
यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रसाईंको अभियानप्रति असन्तुष्टि व्यक्त गर्दै यसले हिन्दू राष्ट्र र राजसंस्थाका एजेन्डालाई गिजोल्न सक्ने बताएको थियो।
