काठमाडौँ – इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (IAWRT) नेपालको सहकार्यमा १५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न भएको छ।
कार्यशालामा नागर्जुन नगरपालिकाका सबै १० वटा वडाबाट १०५ जना स्थानिय सहभागी थिए। कार्यशालाका क्रममा स्वास्थ्य, शिक्षा, कृषि, युवा, बालबालिका र महिलाका विषयमा आधारित १६ वटा लघु चलचित्रहरू निर्माण गरिएका छन्।
कार्यशालामा इमेज एकाडेमीकी संस्थापक अध्यक्ष अनुपा श्रेष्ठ, IAWRT नेपालकी अध्यक्ष इच्छा गुरुङ, सञ्चारकर्मी अनुशा पौडेल, निर्देशक संगीत श्रेष्ठ, सन्ध्या थापा, सन्तोषी पौडेल, शिलु अधिकारी, शैलजा सिंह, दृश्य सम्पादक निशा मानन्धर र कन्टेन्ट क्रिएटर दिपेश घिमिरेले प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षार्थीहरूले मोबाइलमार्फत चलचित्र निर्माण गर्ने प्रशिक्षण पहिलोपटक पाउँदा उत्साहित भएको र कार्यशाला निकै उपयोगी रहेको प्रतिक्रिया दिएका छन्।
आज, असार २९ गते, समापन समारोहमा नगरपालिकाका कार्यवाहक प्रमुख सुसिला अधिकारीले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो। सो अवसरमा वडा नं. ५ का अध्यक्ष महेश रिमाल, IAWRT अन्तर्राष्ट्रियकी सचिव मन्दिरा राउत, विभिन्न वडाका प्रतिनिधिहरूको उपस्थिति थियो।
समारोहमा बोल्दै अध्यक्ष अनुपा श्रेष्ठले “सामाजिक सेवाको लागि बजेटभन्दा पनि इच्छाशक्ति महत्वपूर्ण हुन्छ” भन्दै नगरपालिकाका सबै वडाहरूको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। स्थानीयको उत्साहजनक सहभागिताले थप यस्ता कार्यक्रम गर्न प्रेरणा मिलेको उहाँले बताउनुभयो।
IAWRT नेपालकी अध्यक्ष इच्छा गुरुङले कार्यशालाबाट छनोट भएका उत्कृष्ट १० जनालाई एडभान्स प्रशिक्षणमा सहभागी गराइने र निर्माण गरिएका लघु चलचित्रहरू आगामी मंसिरमा IAWRT नेपालद्वारा आयोजित छैठौं लघु चलचित्र प्रतियोगितामा प्रदर्शन गरिने जानकारी दिनुभयो।
कार्यक्रमको सञ्चालन IAWRT नेपालकी सदस्य तथा सञ्चारकर्मी अनुशा पौडेलले गर्नुभएको थियो।