काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटलबीच प्रतिस्पर्धा हुँदैछ । जारी आईपीएलको पहिलो क्वालिफायर आज साँझ ७ः४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुन लागेको हो ।
विजयी टिम फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले दोस्रो क्वालिफायरमा इलिमिनिटर विजेतासँग खेल्नेछ । इलिमिनिटर शुक्रबार अबुधाबीस्थित शेख जायद रंगशालामा रोयल च्यालेन्जर्स बैंगलौर र सनराइजर्स हैदरावाबीच हुँदैछ ।
अबुधाबीमा आइतबार हुने दोस्रो क्वालिफायरमा जित निकाल्ने टिम र पहिलो क्वालिफायर विजेताबीच आगामी सोमबार दुबईमा यो वर्षको आईपीएल उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
साविक विजेता मुम्बई अंक तालिकाको शीर्षस्थान रहँदै क्वालिफायरमा पुगेको हो । उसले कूल १८ अंक जोडेको छ । राउण्ड रोविनका १४ मध्ये पाँच खेलमा मात्रै उसले पराजय व्यहोर्यो ।
कूल १६ अंक जोडेको दिल्ली अंक तालिकाको दोस्रो स्थानमा छ । दिल्लीले ८ म्याचमा जित निकाल्यो भने ६ म्याचमा पराजित भयो ।
समूह चरणको दुवै खेलमा मुम्बईले दिल्लीलाई स्तब्ध पारेको थियो ।
