काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदमा नयाँ नियुक्तिको लागि प्राधिकरणकै उप-कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति पाउने सम्भावना बढेको छ।
१२औँ तहका शाक्यलाई हाल कामु प्रमुख बनाउने तयारी भइरहेको हो। कुलमान घिसिङको बहिर्गमन हुनेबित्तिकै प्राधिकरणका अर्का उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई कायममुकायमको जिम्मा दिइएको थियो।
तर प्राधिकरणमा कोइरालाभन्दा शाक्य वरिष्ठ हुन्। उनी इन्जिनियरिङ कम्पनीको प्रबन्धसञ्चालक रहेकामा अहिले प्राधिकरणमा नै तानिएको छ। शुक्रबार बसेको प्राधिकरणको सञ्चालक समितिले शाक्यलाई प्राधिकरणमै ल्याउने निर्णय गरेको हो।
तत्कालै कामुको जिम्मेवारी दिन उनलाई प्राधिकरणमै ल्याइएको स्रोतको दाबी छ। त्यसो त आफूले कामुको जिम्मेवारी पाउनु स्वाभाविक भएको शाक्य स्वयं बताउँछन्।
उनलाई सुरुमा कामुको जिम्मेवारी दिइने र पछि मन्त्रिपरिषद्बाट प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मा सुम्पिन लागिएको हो।
प्राधिकरणमा कुलमान घिसिङलाई नै दोहोर्याउन सार्वजनिक दबाब सिर्जना भए पनि सरकारले उनलाई दोहोर्याएन। तर अहिले इन्जिनियरिङ कम्पनीबाट प्राधिकरणमा शाक्यलाई ल्याएर कामुको जिम्मेवारी दिइन खोज्नुले उनलाई नै कार्यकारीमा नियुक्त गर्न खोजेको संकेत दिएको छ।
कुलमान कार्यकारी निर्देशकमा आएको करिब दुई महिना अवधिमा नै नेपालमा लोडसेडिङ अन्त्य भएको थियो। बिजुली नहुँदा मारमा परेका सर्वसाधारणहरुले त्यही भएर कुलमानलाई नै पुनः नियुक्त गर्न सार्वजनिक रुपमा आग्रह गर्दै आएका थिए।
