रामेछाप – कोरोना सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापको बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गरेको विज्ञप्तिमा यो वर्षको तिहारमा केहि निषेधाज्ञासंगै देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको हो ।
काठमाडौँस्थित विशिष्ट सेवा प्रवाह गर्ने अस्पतालहरू कोरोना सङ्क्रमितले भरिभराउ भइसकेको र आईसीयू तथा भेन्टिलेटर सेवा पर्याप्त नभएकाले रोग नियन्त्रणका लागि विशेष स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सबैलाई अपिल गरिएको छ । कानुनले निषेध गरेको क्रियाकलाप गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ।
जिल्लाको धार्मिक, सांस्कृतिक तथा समूहमा भेला भएर गरिने कार्यक्रमले रोगको जोखिम बढाउने भन्दै निषेधाज्ञा जारी गरिएकाले यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने प्रमुख जिल्ला अधिकारी शर्माले जारी गरेको आदेशमा भनिएको छ ।
निषेधाज्ञाको समयमा अहिलेको जस्तै दैनिकी सामान्यरूपमा चलाउन बजार क्षेत्र खुला राख्ने, गाडी सञ्चालन कायमै रहने भए पनि त्यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने भनिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए–नभएको बारेमा जनप्रतिनिधिसहित प्रहरीको टोलीलाई अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।

