काठमाडौँ – कलंकीमा रोकिराखेको ट्रकमा कुखुरा बोकेको गाडी ठक्कर खाएपछि तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते छन्।
कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि बिहीबार बिहान करिब ३:३५ मा दुर्घटना भएको हो।
बल्खुबाट सीतापाइलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने गाडी मकालु पेट्रोल पम्पअगाडि सडकमा रोकिराखेको बा ३ ख ७५३० नम्बरको ट्रकसँग ठक्कर खाएको थियो।
घाइतेहरूलाई उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा लगिएकोमा तीन जनाको निधन भएको र एक जना सामान्य घाइते रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जानकारी दिएको छ।
दुर्घटनामा परेका नुवाकोट सुन्दरदेवी गाउँपालिका घर भएका २४ वर्षिय रोशन तामाङ, नुवाकोट तारकेश्वर गाउँपालिका घर भएका ३७ वर्षका माधव घिमिरे र तारकेश्वरकै २७ वर्षिय भूपेन्द्र तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै नुवाकोट तारकेश्वरका २२ वर्षिय बिजय तामाङ घाइते छन्। उनको खुट्टामा चोट छ।
दुबै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
