काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनै पर्ने बताएका छन्।
बुधबार दिउँसो ट्वीट गर्दै भट्टराईले ओली सरकारको असफलता/भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनै पर्ने बताएका हुन्।
भट्टराईले नेकपाको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले हस्तक्षेप गर्न खोजेको भन्दै त्यसो गर्न नमिल्ने बताएका छन्।
‘नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य/जनताका मुद्दा प्रतिपक्षी दल/जनताले उठाउनैपर्छ है: १.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन;२. ओली सरकारको असफलता/भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ,’ भट्टराईले लेखेका छन्।
नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य/जनताका मुद्दा प्रतिपक्षी दल/जनताले उठाउनैपर्छ है: १.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन;२.ओली सरकारको असफलता/भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।
— Baburam Bhattarai (@brb1954) November 18, 2020
यसअघि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा चुलिएको विवादबारे राष्ट्रपति भण्डारीले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै छलफल गरेकी थिइन्। चिनियाँ राजदूत यान्छीले भने मंगलबार साँझ बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन्।
गत कात्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीले पार्टी र सरकारलाई सही दिशा दिन नसकेको आरोप लगाउँदै राजनीतिक प्रतिवेदन पेस गरेका थिए।
