सामाजिक सञ्जाल ट्विटरमा शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई धेरैले उडाए। कारण थियो मन्त्रालयको वेबसाइटमा राखिएको एउटा तस्बिर।
मेची-महाकाली मेल र कर्णाली लेखिएका र नेपालको झण्डा अङ्कित रेल देखिने तस्बिरमा केपी शर्मा ओली नेतृत्वको सरकारको रेल मोहको झल्को देख्न सकिन्छ।
रेलमार्गबाट नेपाललाई चीन जोड्ने योजनाबारे विमर्श भइरहेका बेला सक्कलीजस्तै देखिनेगरी सरकारी वेबसाइटमा सो तस्बिरले स्थान पाएको छ। रेलको नाम र पछाडि भएको भवनको नाम पनि नेपालीमै छ।
तर रेल स्टेशनमा देखिने विदेशी लिपिका राता अक्षरले भने असावधानीपूर्वक गरिएको तस्बिर सम्पादन र त्यसलाई स्थान दिने मन्त्रालयको अपरिपक्व निर्णय छलाछुल्ल भएको देखिन्छ।
यही विषयबारे समाजिक सञ्जालमा सरकारप्रति कटाक्ष गरिएको छ।
धेरैले चिनियाँ भाषामा स्टेशनको नाम रहेको अनुमान गरेका छन्।
कहिले अप्लोड गरिएको भन्ने अनुमान गर्न गाह्रो भए पनि शनिवार बिहान अन्तर्राष्ट्रिय लगानी मामिलाका विज्ञ सेमन्त दाहालले ट्विटरमा उक्त तस्बिरबारे लेखेका थिए।
धेरै मध्ये एउटा बेवास्थाको नमुना होला यो! भौतिक पूर्वाधार मन्त्रालयले आफ्नो वेबसाइटमा प्रस्तावित मेची-महाकाली रेलको फोटोमा “कर्णाली” र “मेची-महाकाली मेल” लेखिएको ट्रेन, “हेटौडा मल” लेखिएको भवन सम्म त धेरै निधार खुम्चाउनु पर्ने बिषय होइनन्, तर ट्रेन स्टेशनको नाम नै Chinese मा छ त! pic.twitter.com/a4XZdCW03d
— Semanta Dahal (@the3rdbranch) August 10, 2019
तत्काल प्रतिक्रिया जनाउँदै अर्थशास्त्री चन्दन सापकोटाले उक्त कार्यलाई मन्त्रालयको अक्षमताको सङ्ज्ञा दिए।
An example of the level of incompetence at the Ministry of Physical Infrastructure and Transport. 🤔 https://t.co/2ocnYTopRD
— Chandan Sapkota (@csapkota) August 10, 2019
वरिष्ठ पत्रकार तथा शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले सीमित वर्गले यस्तो कुरा बुझेर केही फरक नपर्ने र बहुसङ्ख्यकले यस्तै विज्ञापन हेरेर आफूहरूलाई भोट दिने हुँदा जानाजान हेपाहा प्रवृत्ति देखाएको हुन सक्ने भन्दै प्रतिक्रिया लेखे।
दुई चार जना “एलिट” ले बुझेर, कुरा काटेर के फरक पर्छ ? बहुसंख्यकले रेल र पानी जहाजका यस्तै विज्ञापन हेरेर हामीलाई भोट दिइहाल्छन्, समर्थन गरिहाल्छन् भनेर जानीजानी नै हेपेको पनि त हुनसक्छ ! ‘एनिमल फार्म’ को लक्षण !
— Rajendra Dahal (@RDahal62) August 10, 2019
खासगरी नेपाललाई चीन र भारतसँग जोड्ने रेलमार्गबारे गृहकार्य सुरु भएदेखि सर्वसाधारणमा त्यसबारे चासो ह्वात्तै बढेको पाइन्छ। दुई देशसँग जोड्ने रेलमार्गको विषय मने हालसम्म अध्ययनकै क्रममा छ।
त्यस्तै पूर्व-पश्चिम रेलमार्ग विकासको काम चलिरहेकै भए पनि अपेक्षाकृत नतिजा भने प्राप्त हुन नसकेको सरकारी अधिकारीहरू नै स्वीकार्छन्।
