प्रतिसोध बनेर नपोखियोस्

कविता 

बिहानैबाट सुरु हुने आरन चलाउने काम
मेरो उपासना हो।
त्यो ठाउँ मेरो मन्दिर हो
जहाँ हर दिन म पुजा गर्छु
म आराधना गर्छु।
हो त्यहि आरनले बचाएको छ मेरो परिवार

मलाई यो थाहा छ
यो देशका सयौं जातजातिकाका चुलाहरुमा
मैले बनाएका चुलेसी नाँचीरहेका छन्
मैले कुटेर तयार पारेका भड्डुहरुमा भात पकिरहेका छन्
खेत खलियानमा मैले नै बनाएका कुटो कोदालोहरु हाँसिरहेका छन्
मजदुरहरु हातहातमा देशको भबिष्य साँचिरहेछन्

म भन्छु,
घरघरको चुलो, खेत, बाटो, माटो, जल जमिनदेखि
सत्तासम्म मेरो अ-प्रत्यक्ष उपस्थितिले ,
खै कहाँ के बिग्रियो?
मैले बनाएका औजारहरुले खै कहाँ के बिग्रायो ?
कहाँ के भत्कियो ?
तर गलत प्रयोगलाई त बिचरा म कहाँ रोक्न सक्छु र !
बिहानको झिसमिसेदेखि
रातको न्यानो ओतसम्मको मेरो अ-प्रत्यक्ष उपस्थितिले कहाँ  केे बिग्रिर्यो,
यो समाजको अनि यो राष्ट्रको ?

मेरो रगतको रंग रातै छ किन भनौ ?
र कति भन्ने ?
म र मेरो समाजमा बस्ने अरुको पनि
हाड छाला एउटै हो भनेर कति भन्ने ?
र किन प्रमाणित गरिरहने ?

म अरु जस्तै मान्छे
कसैको घर जाँदा भित्र त छिर्न कहाँ पाउँछु र !
म घरको ढोकाको जस्केलामा टुक्क्रुक बस्छु
अनि त्यहिबाट प्रष्ट देख्छु
तिमी.. मैले बनाएको चुलेसिले तरकारी काटिरहेका हुन्छौ
अँगेनामा ओदान उभिई राखेको देख्छु
अनि देख्छु ओदानमा बसेको मैले नै कुटेर बनाएको भड्डुमा
छड्किराखेक‍ो चामल
अनि टिलपिलाउँछन् अनायास
मेरा आँखामा आँसु।
अनि आँफैलाई प्रश्न गर्छु
के म यो समाजको सदस्य हुँ ?

मलाई, मेरो छोरा, मेरी छोरी अनि श्रीमतीलाई हरपल लाग्छ
यो समाजले पुज्ने भगवान हाम्रो पनि किन हुन सक्दैन ?
यो समाजको हरेक ब्यक्ति छिर्न सक्ने मन्दिर हाम्रो किन बन्न सकेन ?
अझै पनि !
मैले नै बनाएको ढुंगेधाराको पानी
मैले छुँदा कसरी बिटुलो हुन्छ ?
तिमीले फलाएको धान, मकै, फापर, कोदोमा
मेरो पनि पसिना पोखिएको छ ।
तिनै धान, मकै, कोदो
समाजको हर पुजाआजा, बिहेबारी, भोज भतेर
सबैमा चल्छ, पाक्छ
अनि त्यै अन्न खाएर यो सामाज मलाई भन्छ
उ …पर गएर बस ।
हो म अझै पनि उ पर नै बसेको छु
समाज भन्दा अलग – समाज भन्दा भिन्न ।

आज संसारले चन्द्रमामा पहिला टेकि सक्दा पनि ,
म अरुको घरको ढोकाको जस्केला भित्र पनि पाईला टेक्न सक्दिन
स्कुलमा एक्लै बेन्चमा बस्ने मेरो छोरो
बेलुका ओछ्यानमा मलाई प्रश्न गर्छ,
“बा म किन कक्षामा एक्लै बस्नुपर्छ ?”
“किन मलाई स्कुलको क्यान्टिनमा पस्ने अनुमति छैन?”
“स्कुलमा किन म र दिदि मात्रै हुन्छौं खेल्दा ?”
“सरस्वती पुजामा किन सरस्वती मातालाई
फुल चढाउने अनुमति छैन हामीलाई ?”
तरक्क आँशु झर्छ
अनि म अनुत्तरित बन्छु
दिउँ त म के उत्तर दिउँ ?
ए समाज तिमी नै भन्देउ न!
के यसको प्रष्ट उत्तर मेरो छोराले बुझ्ने भाषामा दिन सक्छ यो समाज ?
सबै जात एकै हुन् भनेर पढाउने शिक्षकहरुले निर्धक्क
बिना संकोच, बिना डर समाजको,
के उत्तर दिन सक्छन् मेरा अबोध छोराछोरीका यि प्रश्नहरुको ?

अझैपनि
गाँउका बिहे बटुलोमा अरु सबै
सत्कारमा रमाईलो गफगाफ हाँसि मजाक गरि खाँदै गर्दा
म र मेरो परिवार अलि पर बारीको डिलमा
टुक्रुक्क बसेर टपरामा खाँदै हुन्छ।
अनि त्यतिखेर मेरा छोरा छोरीको
आँखामा देखिने भाव म प्रष्ट पढन सक्छु ।
अनि टिलपिल आँसु बाहेक त्यो भावको संबोधन गर्ने म संग अरु के नै छ र !

अब त हुँदा हुँदा हामीले अरुलाई दिने माया पनि बिटुलो
मन मुटुबाट गरिने माया कसरी बिटुलो हुन्छ ?
के मेरो छोराछोरीले अरुलाई गर्ने मायाँको रंग कालो छ र ?
अनि अरुका छोराछोरीले दिने मायाँ सफेद निख्खर सेतो
कस्तो बिडम्बना,
मेरा छोराछोरीले कसैलाई गर्ने चोखो मायाँमा पनि समाजको डर घोल्नु पर्ने ?

तर कहिलेसम्म यो समय रहला र !
पक्का छ म र मेरो परिवार पनि कुनै दिन
अरु जस्तै समाजको हिस्सा बन्न सक्छ
समग्रमा अरु जस्तै समाजको चोखो मान्छे बन्न सक्छ।
तर त्यो समय आउनु भन्दा अघि
मेरो छोरोले कुनै गलत र निकृष्ट कदम नउठाओस्।
प्रतिसोधको आगो कुनै गलत कदममा नओकलोस्।
कसैलाई हानी नपुर्याओस्
कसैलाई कहिँ नदुखाओस्
उफ !!! भगवान, बिन्ति छ
मेरा छोराछोरीले
प्रतिसोधको ज्वाला नपोखुन्
जसले सामाजिक सद्भाव जलाएर खाग पारोस् ।।।।

भूषण गौतम
सूर्योदय नगरपालिका – ८ , इलाम 

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको