काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा आज केहीबेर बसेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी थिएन। बैठक भोलि फेरि बस्ने गरि सकिएको छ।
बालुवाटारबाट निस्किँदै गर्दा रावलले आफू कार्यदलको प्रतिवेनद बुझाउन आएको प्रतिक्रिया दिए। उनले प्रतिवेदन बुझाएर फर्किएको बताए। ‘हामीले कार्यदलका तर्फबाट जुन प्रतिवेदन प्रस्तुत गरेका छाैं। त्यसलाई यथाशीघ्र इमान्दारिसाथ कार्यान्वयन गरेर हाम्रो पार्टीलाई सुदृढ बनाउने दिशातर्फ लैजानुपर्छ भनेर मैले प्रधानमन्त्रीलाई अनुरोध गरेको छु’, रावलले भने।
पार्टी भित्रको समस्या (विवाद) समाधानका सन्दर्भमा एकता कार्यदलका सदस्यले आइतबार राति १० बुँदे सहमति गरेको र सहमतिअनुसार पार्टी एकता ‘सुदृढ गर्न’ सोमबारको स्थायी कमिटी बैठक रोक्नुपर्ने मागसहित रावल बालुवाटार पुगेका उनी निकट नेताहरूले बताएका थिए।
भोलिको बैठकमा वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत पनि सहभागी हुने एमाले सचिव प्रदीप ज्ञवालीले बताए।
स्थायी कमिटी बैठक सकेर एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्।
