नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सोमबार दर्ज्यानी चिह्न (फुली) लगाएका छन्।
बिहान गृह मन्त्रालयमा आयोजित समारोहका बीच गृहसचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाइदिएका हुन्।

आइतबार सरकारले सिंहलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो। सिंहको बढुवामा अर्का एआईजी विश्वराज पोख्रेल र सहकुल थापा असन्तुष्ट देखिएका छन्। सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत जानेसम्मको तयारी उनीहरुको छ।
थापाले सल्लाहमा रहेको बताए पनि पोख्रेलले अदालत जाने निर्णयमा पुगेको बताएका छन्। रिट परेर सोमबार नै पेसी तोकिए सर्वोच्चले दर्ज्यानी चिह्न लगाउनै रोक्नसक्ने भएकाले बिहानै कार्यक्रम सम्पन्न गरिएको हो।

यसअघि सरकारले जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्दा सर्वोच्चले रोक लगाएको थियो। त्यस्तै घटना दोहोरिन सक्ने भएकाले गृह मन्त्रालयले बिहानै कार्यक्रम राखेको हो।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि आइतबारै महानिरीक्षक नियुक्त भएका हुन्।

