सरकारले द्वन्द्वग्रस्त अफ्रिकी मुलुक मालीमा शान्ति स्थापनार्थ १४० जना सशस्त्र प्रहरी पठाउने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको छ । भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रवधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
यसअघि संयुक्त राष्ट्रसंघले सशस्त्रको एक फर्म्ड पुलिस युनिट (एफपियू) मालीमा खटाउने निर्णय गरी तयारी गर्न पत्राचार गरेको थियाे । राष्ट्रसंघले मालीको किदाल क्षेत्रमा सशस्त्रको एफपियू खटाउने निर्णय गरेको सशस्त्र प्रहरीले जनाएको छ । सन् २०२३ को जनवरीदेखि कार्यक्षेत्रमा खटिने गरी तयारी गर्न राष्ट्रसंघले पत्राचार गरेसँगै सशस्त्रले आफ्नोतर्फबाट गर्नुपर्ने प्रक्रिया अघि बढाएको छ ।
सशस्त्र प्रहरी बल मुख्यायलले माली मिसनमा एक सय ४० जनाको एफपीयू खटाउने तयारी सुरु भइसकेको जनाएको छ । ‘राष्ट्रसंघबाट पत्र आएसँगै हामीले आफ्नो तयारी थालेका छौँ,’ मुख्यालय स्रोतले भन्यो ‘तोकेकै अवधिमा टोली पठाउने हाम्रो योजना छ ।’
राष्ट्रसंघले दिएको समयतालिकाअनुसार सेप्टेम्बर पहिलो साता सशस्त्रको टोली एफपियू रहने क्षेत्रको तयारी भ्रमणमा जानेछ । अक्टोबरमा राष्ट्रसंघको टोली निरीक्षणका लागि नेपाल आउनेछ । निरीक्षणमा बन्दोबस्तीका सामान तथा मिसनमा खटिनेको पूर्ण तयारी गरेको पाइए सशस्त्रको टोली माली खटिनेछ । मिसनमा खटिने टोलीको छनोट र तालिम तथा बन्दोबस्तीका सामान खरिदका लागि सशस्त्रले तयारी थालिसकेको छ ।
सुरक्षा निकायका एफपियू मिसनका लागि आवश्यक एपिसी, एमपिभीलगायत बन्दोबस्तीका सामान खरिदमा सधैँ बिचौलियाको चलखेल हुँदै आएको छ । सशस्त्रमा पनि यसअघिको खरिद विवादमा परेपछि उसले सीधै सेनासँग खरिद गरेको थियो । यसपटक पनि सशस्त्रले खरिद विवादमा नपर्न सकेसम्म जिटुजी प्रक्रियाबाट किन्ने नत्र सेनाबाट खरिद गर्नेबारे तयारी गरेको स्रोत बताउँछ ।
सेनाले सशस्त्रलाई हतियार तथा एफपियूका लागि आवश्यक सामानमा सहयोग गर्दै आएको छ । सशस्त्रलाई खटाउन लागिएको मालीको उत्तरी क्षेत्र किदाल सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण ठाउँ मानिन्छ, जहाँ पटक–पटक विद्रोहीबाट शान्ति सैनिकमाथि समेत आक्रमण भएको छ । त्यस्तो ठाउँमा खटिन अन्यत्रभन्दा धेरै बन्दोबस्तीका सामान आवश्यक हुने सशस्त्र प्रहरी अधिकारी बताउँछन् ।
नयाँ शान्ति मिसनका लागि भनेर सशस्त्र प्रहरी बलले पाँच वर्षअघि नै करिब ३० करोडमा आवश्यक बन्दोबस्तीका सामान खरिद गरेको थियो । चारवटा बख्तरबन्द गाडी (एपिसी), जेनेरेटरलगायत सामान लामो समयसम्म प्रयोगविहीन अवस्थामा छन् । सशस्त्र प्रहरी कल्याणकारी कोषमार्फत ०७४ मा ती सामान खरिद गरिएका थिए । त्यतिवेला राष्ट्रसंघले नयाँ फर्म्ड पुलिस युनिट (एफपियू) मिसन थप्ने निश्चित नै भएको थिएन । यसरी किनिएका कतिपय सामान बिग्रिसकेका छन् ।
त्यतिबेलाको खरिद पनि विवादमा परेको थियो । सुरुमा ठेक्का प्रक्रियामार्फत एपिसी खरिद अघि बढाइएको थियो । कमिसनको चलखेलले विवाद भएपछि त्यसलाई रद्द गरेर सेनासँग सीधै खरिद गरिएको थियो । ती सामान अब माली मिसनमा प्रयोग हुने भएका छन् । तर, ती सामानले मात्रै नपुग्ने भएकाले एमपिभीलगायतका सामान खरिद गर्नुपर्ने अवस्था छ ।
केही वर्षअघि अफ्रिकी देश दक्षिण सुडानमा सशस्त्र प्रहरीका तीन एफपियू मिसन रहेकोमा अहिले एउटा मात्र छ । सशस्त्रको पहिलो एफपियू सन् २००२ मा लाइबेरियामा खटिएको थियो, जुन आठ वर्षअघि नै बन्द भइसकेको छ । नयाँ मिसन थपिएसँगै शान्ति मिसनमा जाने अवसर बढ्ने र त्यसले कर्मचारीमा प्रोत्साहन बढ्ने सशस्त्र प्रहरीका अधिकारीहरू बताउँछन् । शान्ति मिसनमा नेपाली सुरक्षा अधिकारीले अन्य देशको भन्दा कुशलताका साथ जिम्मेवारी निर्वाह गर्दै आएकाले छवि उच्च छ ।
राष्ट्रसंघीय शान्ति मिसनमा जनशक्ति परिचालनमा नेपाल बंगलादेशपछि दोस्रो स्थानमा छ । नेपाली सेनाबाट मात्र हाल विभिन्न १२ मिसनमा करिब साढे पाँच हजार कर्मचारी कार्यरत छन् । त्यस्तै सशस्त्र प्रहरीबाट एक सय ९० र नेपाल प्रहरीबाट ४३ जना कार्यरत छन् ।
