चितवन – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् ।
रास्वपाका प्रवक्ता डा.मुकुल ढकालका अनुसार दिउँसो २ः२५ सम्मको अपडेटमा रविले ४ हजार ७ मत प्राप्त गरेका छन् । एमालेका कृष्णभक्त पोखरेल दोस्रो स्थानमा झरेका छन् । उनको मत ३ हजार ८ सय ७९ छ । यसैगरि कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४ सय १० मत ल्याएका छन् ।
ढकालले अहिले जारी मतगणनामा घन्टीलाई अत्यधिक मत आइरहेको बताए । अब रविले प्रतिस्पर्धीहरुसँग दुरी बढाउँदै विशाल अन्तरालले चुनाव जित्ने उनको भनाइ छ । अहिले कालिका नगरपालिकाको १ र २ को मतगणना भइरहेको छ ।
देशभरका १३१ स्थानमा उम्मेदवारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाका ९ क्षेत्रमा अग्रता कायम राखेको छ।
हाल मतगणना चलिरहेका १२२ निर्वाचन क्षेत्रमध्ये स्वतन्त्रका उम्मेदवारले ९ क्षेत्रमा अग्रता कायम राखेका हुन्। पार्टीका ९ उम्मेदवारले अग्रता कायम राखेपनि सभापति रवी लामिछाने भने मतगणनामा पछि परेका छन्।
चितवन २ मा रविलाई एमालेका कृष्णभक्त पोखरेलले लगातार पछि पारिरहेका छन्। पछिल्लो मत परिणामअनुसार पोखरेलले २ हजार ९१९ मत प्राप्त गर्दा लामिछानेले २ हजार ४९४ मत प्राप्त गरेका छन्।
पार्टी सभापति पछि परे पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा उम्मेदवार बनेकी तोसिमा कार्कीले ४ हजार ९१० मतसहित अग्रता कायम राखेकी छन्। उनका प्रतिस्पर्धी एमालेका अमृत खड्काले ३ हजार ८४५ मत प्राप्त गरेका छन्।
काठमाडौँ २ मा रास्वपाकी सोविता गौतमले अग्रता कायम राखेकी छन्। उनले ५ हजार ३३६ मत प्राप्त गर्दा एमालेका मणिराम फुँयालले ३ हजार ८०१ मत प्राप्त गरेका छन्। यहाँ माओवादीकी ओनसरी घर्ती ३ हजार ७९१ मतसहित तेस्रो स्थानमा छिन्। रास्वपाबाट काठमाडौं ६ मा उम्मेदवार बनेका शिशिर खनालले ३ हजार २६६ मत प्राप्त गर्दा एमालेका सर्वेन्द्र खनालले २ हजार ३४ मत मात्रै प्राप्त गरेका छन्।
काठमाडौं ७ मा रास्वपाका गणेश पराजुलीले ३ हजार ४४५ मत प्राप्त गर्दा एमालेका श्यामकुमार घिमिरेले ३ हजार ३४५ मत प्राप्त गरेका छन्। काठमाडौं ८ मा विराज भक्त श्रेष्ठले ६ हजार १०९ मतसहित अग्रता कायम राख्दा हाम्रो नेपाली पार्टीका सुमन सायमीले ४ हजार ६१३ मत मात्रै प्राप्त गरेका छन्। काठमाडौं ८ मा दुबै गठबन्धनका उम्मेदवार श्रेष्ठ र सायमी भन्दा निकै पछि छन्।
सुनसरी ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली अघि छन्। उनले ८२९ मत प्राप्त गर्दा एमालेका भगवती चौधरीले ७३४ मत प्राप्त गरेका छन्। सुरुवाती गणनामा सुनसरीका १ र २ मा अग्रता बनाएका सो पार्टीका उम्मेदवार अहिले पछि परेका छन्।
त्यसैगरी चितवन १ मा रास्वपाका हरि ढकालले ५ हजार ११९ मत प्राप्त गर्दा कांग्रेसका विश्वनाथ पौडेलले ३ हजार ८७६ र एमालेका सुरेन्द्रप्रसाद पाण्डेले ३ हजार ७८९ मत प्राप्त गरेका छन्।
त्यसैगरी रुपन्देही २ मा रास्वपाका गणेश पौडेलले १ हजार ९६ मत प्राप्त गर्दा एमालेका विष्णु पौडेलले ९६४ मत प्राप्त गरेका छन्।
कास्की २ मा पनि रास्वपाका माधवप्रसाद कँडेलले २ हजार ४३९ मत प्राप्त गर्दा एमालेकी विद्या भट्टराईले २ हजार २५७ मत प्राप्त गरेका छन्।
