प्रत्यक्षतर्फ राम्रो नतिजा ल्याउन नसकेको नेकपा (एमाले) समानुपातिकतर्फ भने अग्रता लिइरहेको छ । मंगलबार मध्याह्नसम्म भएको मतगणनाअनुसार एमाले पहिलो, कांग्रेस दोस्रो र तेस्रो स्थानमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी छन् ।
माओवादी केन्द्रले चौथो धेरै मत प्राप्त गरेको छ भने एकीकृत समाजवादी पार्टी दशौँ स्थानमा छ । प्रतिनिधि सभामा समानुपातिकतर्फ जारी मतगणना नेकपा एमालेले १ लाख मत कटाएको छ।
अहिलेसम्म गणनाभएको ३ लाख ५० हजार सदर मतमध्ये पहिलो स्थानमा रहेको एमालेले १०१६६५ मत पाएको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८७२२५ मत पाएको छ। तेस्रो स्थानमा घन्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ४६३५२ मत पाएको छ। यो अहिलेसम्म गणना भएको सदर मतको १३.२२ प्रतिशत मत हो।
चौथो स्थानमा रहेको माओवादी केन्द्रले ३८२८८ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले २५९९८ मत पाएको छ। अरू दलहरूले १० हजार मत कटाउन सकेका छैनन्। जसपाले ८१३४, जनमत पार्टीले ७४६२ मत पाएका छन्।
नागरिक उन्मुक्ति पार्टीले ७४६२, नेपाल मजदुर किसान पार्टीले ५४३४, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ५०८३ ले मत पाएका छन्। अन्य दलहरूले पाएको मत १९४३० छ।
प्रदेशसभामा पनि एमाले र कांग्रेसले हाराहारी मत प्राप्त गरेका छन् । मतगणना भइरहेका पाँच प्रदेशमध्ये प्रदेश १, लुम्बिनी र गण्डकीमा एमाले पहिलो छ भने मधेस र बागमतीमा कांग्रेसको मत धेरै छ ।
