गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारी मतान्तरसहित अग्रता कायम राखेका छन् ।
बुधबार बिहानसम्मको मतगणनाको परिणामअनुसार प्रचण्डले १५ हजार ५७६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ४ हजार ७०५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका अब्दुस सलाम मियाँले ३ हजार ९२३ मत ल्याएका छन् ।
उता, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उठेको झापा क्षेत्र नम्बर ५ को मत गणना जारी छ।
ताजा मतपरिणाम अनुसार ओली अहिले पनि निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवारभन्दा झन्डै दोब्बर मतले अगाडि छन्।
प्राप्त विवरणअनुसार अहिलेसम्म ओली पक्षमा ३६हजार ५ सय २८ आएको छ। प्रतिनिधिसभा सदस्य पदमा प्रतिस्पर्धा गरिरहेका ओली मतगणनाको सुरुवातदेखि नै अघि छन्।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले अहिलेसम्म १८ हजार ४ सय १६ मत ल्याएका छन्। यो नतिजा ७१ हजार ४ सय १ मत गनिसक्दासम्मको हो।
अधिकारी २०७४ को निर्वाचनमा एमाले अध्यक्ष ओलीसँग नै हारेका थिए। ५७ हजार १३९ मतसहित ओली प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा उनले २८ हजार २९७ मत पाएका थिए।
