ओखलढुंगाको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा निर्वाचित भएका छन् । बुधबार सम्पन्न मतगणनामा खतिवडा एमालेका यज्ञराज सुनुवारलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
खतिवडा ३३ हजार ५५६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका यज्ञराज सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरेका छन् । खतिवडा र सुनुवारको मतान्तर ६ हजार ८१८ रहेको छ । यद्यपी, निर्वाचन आयोगले घोषणा भने गरिसकेको छैन ।
ओखलढुंगाको प्रदेशसभा सदस्यमा ‘क’मा कांग्रेसकै प्रदीप सुनुवार र ‘ख’ मा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भएका छन् ।
अघिल्लो निर्वाचनमा खतिवडा थोरै मतान्तरले सुनुवारसँग पराजित भएका थिए । २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा चुनावमा माओवादीले ओखलढुंगाका दुवै निर्वाचन क्षेत्रमा कांग्रेस र एमालेलाई पराजित गरेको थियो ।
पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसका खतिवडाले टिकट पाएनन् भने एमालेका सुनुवार माओवादी उम्मेदवारसँग पराजित भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा माओवादी उम्मेदवारलाई पराजित गरेर सुनुवारले निर्वाचन क्षेत्र नम्बर १ र खतिवडाले निर्वाचन क्षेत्र नम्बर २ मा जिते । उक्त चुनावमा सुनुवारले प्रतिस्पर्धी भन्दा करिब ३ हजार र खतिवडाले प्रतिस्पर्धी भन्दा करिब ५ हजार बढी मत ल्याएर विजयी भएका थिए ।
