प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा समानुपातिकतर्फ नेकपा एमालेले २७ लाख भोट कटाएको छ।
एक करोड ४२ हजार ५१४ मत गनिसक्दा एमालेले ताजा अवस्थामा २७ लाख ९०४ मत ल्याउन सफल भएको हो। सुरुदेखि नै अग्रता बनाएको एमालेले समानुतिकतर्फ अग्रता कायमै राखेको छ। उसले नेपाली कांग्रेससँग करिब डेढ लाखको फराकिलो अन्तर बनाएको छ।
बुधबार दिउँसो १ बजेसम्म एमालेले २७ लाख कटाउँदा कांग्रेसले २५ लाख ५९ हजार ३९१ मत ल्याएको छ। उता माओवादी केन्द्रले ११ लाख ४५ हजार ३९१ मत ल्याएर तेस्रोमा छ। चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १६१ मत ल्याएको छ।
यो निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको थियो ।
राजनीतिक दल सम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।
प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ ।
