काठमाडौं – प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ । साँझ ८ बजेसम्मको मतपरिणामअनुसार समानुपातिकतर्फ नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ ।
एक करोड एक लाख ७१ हजार २७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार ६३९ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २५ लाख ८५ हजार ९०, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ५३ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख चार हजार २४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार २७५ मत पाएको छ ।
यसैगरी जनता समाजवादी पार्टीले चार लाख आठ हजार ९६४, जनमत पार्टीले तीन लाख ७६ हजार १९९, नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ९० हजार १९६ र नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६८ हजार ४३६ मत प्राप्त गरेका छन् ।
आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो भने अहिलेसम्मको आकलन अनुसार ३ लाख मत बदर भएका छन्। यस आधारमा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन्छ। थ्रेस होल्ड कटाउन कूल सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्ने हुन्छ।
यस आधारमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र जनता समाजवादी पार्टी दल बन्ने पक्का भइसकेको छ।
राजनीतिक दल सम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।
प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ ।
