नेकपा माओवादी केन्द्रले हाल कायम रहेको सत्ता गठबन्धनकै सरकार बनाउन पार्टीको प्राथमिकता रहने बताएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले पार्टीले हाल कायम रहेको गठबन्धनको विकल्प खोजिनसकेको स्पष्ट पारे ।
पार्टी पदाधिकारीको आइतबार सम्पन्न बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गुरुङले पार्टीको बैठकमा सरकारको बारेमा उल्लेखनीय रुपमा विषय प्रवेश नै नगरेको दाबी गरे ।
उनले पार्टीको पदाधिकारी बैठकमा चुनावकै विषयमा छलफल केन्द्रित भएको पनि उनले जिकिर गरे । ‘सरकारका विषयमा छलफल प्रवेश भएको छैन । माओवादीसहितको गठबन्धन भएकाले पहिला गठबन्धन घटकहरुबीच कुराकानी हुने कुरा भयो’, उनले भने, ‘छिट्टै गठबन्धनको बैठक बसेर अघि बढिन्छ ।’
उनले समग्र चुनावी समीक्षा र सरकार निर्माणका सवालमा सत्ता गठबन्धनको बैठक सोमबार बोलाइएको पनि बताए । उनले माओवादीले गठबन्धनको विकल्प खोज्ने भनेर शनिबार सञ्चारमाध्यममा आएको भएपनि त्यस्तो अवस्था आइनसकेको बताए।
‘हिजो कताबाट आयो, त्यो अर्को कुरा हो तरपनि सरकार गठन बारेमा विकल्पहरूमा छलफल सुरु भएकै छैन’, उनले भने, ‘पहिलो कुरा त गठबन्धनमै रहेर छलफल गर्ने कुरा भयो । गठबन्धनमा असहमति पैदा भएको अवस्था होइन ।’ उनले केही कमीकमजोरीका बीच गठबन्धन मूलभूत रुपमा सफल भएको पनि बैठकले निष्कर्ष निकालेको बताए ।
गुरूङका अनुसार सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक सोमबार बस्ने तय भएको छ। उक्त बैठकमा चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल हुनेछ।
उनले गठबन्धनको विकल्प पार्टीले अहिले नै नखोजेको र गठबन्धनबाट नै नयाँ सरकार बनाउन माओवादीको पहिलो प्रयास भएको बताए।
शनिबार बसेको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता कृष्णबहादुर महराले नयाँ सरकार बनाउन सबै विकल्पमा पार्टी खुला रहने बताएका थिए। तर महासचिव गुरूङले भने अहिले गठबन्धनबाहेक अन्य केही विकल्पमा छलफल नगरिएको दाबी गरेका छन्।
अहिलेसम्म गठबन्धनमा कुनै विमति र असहमति नरहेर गठबन्धनबाटै अगाडि बढ्न पहल गर्ने उनको भनाइ छ। पार्टीले तुरुन्तै गठबन्धनको विकल्प अवस्थामा नरहेको दाबी गरे।
उनले भने, ‘सरकारको विषयमा प्रवेश भएको छैन। हामीले नेतृत्वमा दाबी गर्नु स्वभाविक भयो। तर, अहिले आपसी सहमतिबिना सरकारको नेतृत्वको सम्भव छैन। हामीले समझदारी खोजेका छौँ। परिवर्तनको बाहक भएकाले माग गर्नु स्वभाविक छ। सहमतिमै जोड छ।’
निर्वाचनको प्रारम्भिक समीक्षा भएको बताउँदै पार्टी स्थायी र केन्द्रीय कमिटीमा छलफल हुने बताए। उनले भने, ‘गठबन्धनबाट जाँदा पनि अपेक्षाकृत नतिजा नआए पनि मूलभूत रूपमा सफल नै भएको छ। निर्वाचनमा थोरै तलमाथि भएको हुनसक्छ। त्यसलाई हामीले स्वीकार गरेर नै अगाडि बढ्नुपर्छ।’
