काठमाडौं- प्रतिनिधिसभामा १२ राजनीतिक दलको सहभागिता रहने भएको छ । प्रतिनिधिसभामा १२ दल संसदमा सहभागी हुने भए पनि ५ दलले राष्ट्रिय दलको मान्यता पाउने छैनन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउनेछन् ।
राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत ‘थ्रेस होल्ड ‘ कटाउनुपर्ने कानुनी व्यवस्था छ ।
नेकपा एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’ कटाउन संघर्ष गरिरहेको छ । समाजवादीले अहिलेसम्म २ लाख ९४ हजार मत प्राप्त गरे पनि ‘थ्रेस होल्ड’ कटाउन नसक्ने निश्चित जस्तै भएको छ ।
राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि थ्रेस होल्ड कटाएका छैनन् ।
संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय दलको मान्यता पाउन पार्टीले संसदमा संसदीय दलको कार्यालयसहित सांसदको संख्याअनुसार कर्मचारी र खर्चको सुविधा पाउँछन् । राष्ट्रिय दलको मान्यता पाउने पार्टीको प्रमुख सचेतकले सचिवालय र कर्मचारीसहित गाडीको सुविधा पाउँछन् ।
यसैगरी राष्ट्रिय दलको मान्यता प्राप्त पार्टी आफ्नो चुनाव चिह्न कायम राख्ने सुविधा पाउँछन् भने राष्ट्रिय दलको मान्यता पाउँदा प्राप्त मतअनुसार मतपत्रमा चुनाव चिह्न पनि सबैभन्दा अगाडिबाट क्रमशः राखिने संघीय संसद सचिवालयले जनाएको छ ।
