काठमाडाैं । पोर्चुगलका युवा फरवार्ड गोन्सालो रामोस कतारमा जारी फिफा विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।
अन्तिम १६ अन्तर्गत स्वीजरल्याण्ड विरुद्धको खेलमा रामोसले ३ गोल गर्दै ह्याट्रिक पूरा गरे । नियमित कप्तान क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलो रोजाईँमा खेलेका उनले १७औं, ५१औं र ६७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
उनले विश्वकपमा स्वीजरल्याण्ड विरुद्ध मात्रै पहिलो रोजाईँमा खेलेका हुन् ।
खेलको १७ औँ मिनेटमा रामोसको गोलमा पोर्चुगलले सुरुवाती अग्रता बनाएको थियो। रामोसले जाओ फ्लीक्सको पासमा गोल गरेका थिए। ३३ औँ मिनेटमा कप्तान पेपेले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारेका थिए।
खेलको ५१ औँ मिनेटमा रामोसले व्यक्तीगत गोल तथा टोलीका लागि तेस्रो गोल गर्दै खेललाई ३–० को अवस्थामा ल्याए।
खेलको ५५ औँ मिनेटमा राफेल गुइरिरोले गोल गर्दै पोर्चुगललाई ४–० को अग्रता दिलाए। त्यसको तिन मिनेटमा नै स्वीटजरल्याण्डले गोल गर्दै खेलमा फर्कने संकेत गरेको थियो। स्वीटजरल्याण्डका मेनुअल एन्काजीले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए।
६७ औँ मिनेटमा पोर्चुगललाई ५–१ को अग्रता दिलाउने क्रममा रामोसले ह्याट्रिक पुरा गरे। खेलको अतिरिक्त समयमा राफेल लियोले गोल गर्दै ६–१ को सानदार जित निकालेको हो।
विश्वकपमा १९६६ मा तेस्रो भएको पोर्चुगल २००६ मा चौथो भएको थियो। फिफा विश्वकपमा यो नै पोर्चुगलको उत्कृष्ट नतिजा हो। त्यसयता २०१० मा अन्तिम १६ बाट बाहिरिएको पोर्चुगल २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो। २०१८ मा नकआउट चरणबाटै बाहिरिएको पोर्चुगल यो संस्करण विश्वकप उचाल्ने दाउमा छ।
पोर्चुगलले अब क्वाटरफाइनलमा अफ्रिकन टिम मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । मोरक्को २०१० को विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा हराउँदै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो ।
