नेपाली कांग्रेस संसदीय दलको निर्वाचन बुधबार बिहान हुने भएको छ। कांग्रेस कार्यसम्पादन समितिको आइतवार बसेको बैठकको निर्णयअनुसार दलको नयाँ नेता चयनका लागि बुधबार निर्वाचन हुने भएको हो।
संसद सचिवालयले कांग्रेस दलको नेता चयनसम्बन्धी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएकाे छ। कांग्रेस दलको नेताका लागि सभापति शेरबहादुर देउवा बलिया दाबेदार हुन्। संस्थापन इतरबाट डा. शेखर कोइराला र महामन्त्री गगन थापाहरुले पनि दलको नेताका लागि दबाब बढाइरहेका छन्।
कांग्रेसमा दलको नेताका लागि सर्वसम्मत सम्भावना सकिएपछि चुनावको तयारी गरिएको हो। कांग्रेसले संसदीय दलको निर्वाचन तयारीका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार राखेको थियो।
उक्त बैठकले दलको निर्वाचनका लागि सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचनमण्डल बनाइसकेको छ।
प्रधानमन्त्री समेत रहेका देउवाले शनिबार नवनिर्वाचित सांसदहरुलाई बालुवाटार बोलाएर बधाई दिइसकेका छन्।
त्यसपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बसिसकेको छ। नयाँ सरकार बन्ने रस्साकस्सी चलिरहँदा कांग्रेसमा संसदीय दलको नेताबारे सहमति नहुँदा निर्वाचनबाटै चयन गरिने भएको हो।
कांग्रेसको इतर समूहमा सहमति नहुँदा देउवा नै दलको नेता हुने करिब पक्का जस्तै छ। महामन्त्री थापाले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर काठमाडौं ४ बाट चुनाव जितिसकेका छन्। उता मोरङ ६ बाट विजयी शेखरले पनि संसदीय दलमा जाने योजना बनाएका छन्। तर दुवैजना इतर समूहका हुन्।
एकै गुटका यी दुईजनाबीच सहमति नभइरहेको अवस्थामा दलको निर्वाचन हुँदैछ। निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम परिणामको प्रतिवेदन बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाइसकेको छ।
आयोगले निर्वाचनको अन्तिम परिणामबारे उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि औपचारिक रुपमै जानकारी गराइसकेको छ।
संविधानले प्रतिनिधि सभाको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र प्रधानमन्त्री नियुक्त हुनुपर्ने व्यवस्था गरेको छ। त्यही व्यवस्था बमोजिम अब राष्ट्रपतिबाट १० दिनको समय दिएर सरकार निर्माणका लागि आह्वान भइसकेको छ।
यस्तोमा दलहरु नेता चयनमा जुटेका छन्। दलको नेताका लागि एमालेबाट केपी शर्मा ओली, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीमा राजेन्द्र लिङ्देन, जनता समाजवादीमा अशोक राई र एकीकृत समाजवादीमा माधवकुमार नेपाल निश्चित जस्तै छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने दलको नेता चयन भइसकेका छन्।
सबैभन्दा चुनौती कांग्रेस सभापति देउवालाई छ। उनी यस पटक पनि दलको नेता भएर छैटौँ पटक प्रधानमन्त्री हुने दाउमा छन्। संस्थापन इतरमा विभाजन देखिएकाले दलको नेतामा देउवा सजिलै विजयी हुने सम्भावना छ।
